रौतहटमा क्वारेन्टिनमा बसेका थप ६५ जनामा कोरोना संक्रमण

जेष्ठ २२, २०७७ | रौतहट

रौतहटका दुई महिला सहित ६५ जना बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण रोजगारी गुमेपछि भारतबाट फर्केर क्वारेन्टिनमा बसेका रौतहटका ६५ जनामा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो समय भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुमा संक्रमण बढी देनि थालेको छ । जिल्लामा अहिले सम्म ३ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सबै भारतबाट फर्केर क्वारेन्टिनमा बसेकाहरु हुन् ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले जिल्लाको ईशनाथ नगरपालिकामा ४६, गुजरा नगरपालिकामा ८, फटुवा विजयपुरमा १, चन्द्रपुरमा १, माधवनारायणमा १, गढीमाईमा ७ र दुर्गाभगवती गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको बताउनुभयो । ‘भारतबाट घर फर्किएकाहरुमा कोरोना पुष्टि भएको छ, उहाँले भन्नुभयो, ‘सबैको स्वास्थ्य अवस्था समान्य छ । संक्रमितहरुलाई आजै आईसोलेसनमा राख्ने तयारी हुँदै छ ।’

प्रजिअ घिमिरेका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सक्रमण पुष्टि भएको हो । जिल्लामा पछिल्लो समय सक्रमण देखिएकाहरु सबै भारतबाट फर्केका कामदार हुन् । 

उनीहरु भारतको दिल्ली, मुम्बई, केरला, हरियाण लगायत शहरहरुमा काम गर्न गएका थिए । भारतका विभिन्न शहरमा कोभिड–१९ को सक्रमण बढ्न थाले पछि त्यहाँको सरकारले जारी गरेको लकडाउनका कारण नेपालीहरु उतै फसेका थिए ।

तर, पछिल्लो समय लकडाउन खुकुलो बनाए पछि अहिले धमाधम घर फर्केका छन् । जिल्ला प्रशासन र स्थानीय तहले भारतबाट फर्केकाहरुलाई समुदायमा घुलमिल गर्न नदिई सीधै क्वारेन्टिनमा ल्याएर राखेको थियो । झण्डै डेढ साता क्वारेन्टिनमा बसेपछि उनीहरुको स्वाब परीक्षणका लागि पठाईएको थियो । अहिले जिल्लाका विभिन्न स्थानीय तहको क्वारेन्टिनमा ९ हजार जनालाई राखिएको छ । 


प्रतिक्रिया