एक महिनाको लागि गाउँ – गाउँमा विशेषज्ञ चिकित्सक परिचालन

जेष्ठ २३, २०७७ | जुम्ला

– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइसरको संक्रमण फैलन नदिन र क्वारेन्टाइनमा बसेकाहरुलाई स्वास्थ्य सेवा दिनको लागि जिल्लाका ८ वटै स्थानीय तहमा दुई दुई जना विशेषज्ञ चिकित्सक पठाएको छ । कोराना संक्रमण नियन्त्रण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले हरेक स्थानीय तहमा चिकित्सक खटाएको बरिष्ठ प्रशासकीय अधिकृत द्वन्द्व बहादुर शाहीले बताउनुभयो । कनकासुन्दरी गाउँपालिकामा एक जना र चन्दननाथ नगरपालिका सहितका स्थानीय तहमा दुई दुई जना सहित  १५ जना चिकित्सक खटाइएको उहाँले बताउनुभयो । गाउँमा खटिएको चिकित्सकको टोलीले क्वारेन्टिनको निगरानी गर्नुका साथै गाउँमा हुने सबै प्रकारका बिरामीको परीक्षण गर्ने छ । समग्रमा मनोवैज्ञानिक त्रास हटाउनका लागि चिकित्सक परिचालन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताउनुभयो । 


प्रतिक्रिया