भारत गएका ५१ जनालाई सामुहिक रुपमा ताप्लेजुङ भित्र्याइयो

जेष्ठ २३, २०७७ | ताप्लेजुङ

– रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका ५१ जना आज बिहान ताप्लेजुङ आइपुगेका छन् । उनीहरुलाई दुइवटा बसमा फर्काइएको हो । विभिन्न नाका हुँदै नेपाल फर्किएका उनीहरुलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको क्वारेन्टिनमा राखिएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएको पीसीआर परीक्षण नेगेटिभ आएपछि घर फर्कन पाएका हुन् । 

संक्रमण देखिएका एकजनालाई भने धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । फर्किएकाहरुलाई ताप्लेजुङ प्रवेशद्धार काबेलीको हेल्थ डेक्समा स्वास्थ्य परीक्षण गरिएको थियो । आजै आ–आफ्नो घर पठाइएका उनीहरु होम क्वारेण्टाइनमा बस्ने र त्यही अनुसारको परामर्स दिएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव तथा प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो । यसअघि भारतबाट आएका ११ जनालाई मेरिङदेन गाउँपालिकाले बनाएको क्वारेन्टिनमा राखिएको छ । पाँचथरको फलेप नाका भएर पैदल हिंडेर आएका उनीहरुको एकादुई दिनमा पीसीआर परीक्षण गरिने निरौलाले बताउनुभयो ।

भारतबाट काँकरभिट्टा नाका भएर फर्किएकालाई झापाका क्वारेण्टिनमा राखिएको छ । भैरहवा नाका भएर आएकालाई झपाकै बुद्धशान्ति गाउँपालिकामा राखिएको छ । बुद्धशान्ति र भोक्रामा राखिएका मध्ये चारजनामा कोरोना संक्रमण देखिएपछि धरानमा उपचार भइरहेको छ । 


प्रतिक्रिया