पाँचतले मन्दिर जीर्णोद्धारको श्रमदानमा उर्लिए स्थानीय

असार १६, २०७७ | भक्तपुर

कोही माटो मुछ्दै, कोही डल्लो बनाउँदै त कोही लाम लागेर माटो र इँटा पास गर्दै छाना सम्म पुर्‍याउँदै छन् । पाँचतले (ङातापोल) मन्दिर जीर्णोद्धारका लागि बनाएको बाँसको खटमा चढेर महिला, पुरुषहरु छाना छाउन सघाइरहेका छन् । मन्दिर जीर्णोद्धारका लागि श्रमदानमा आएका कतिपयले काम पाउन समेत मुश्किल छ ।

‘नगरपालिकाले सम्पदा पुनर्निर्माणका लागि श्रमदान गर्न चाहनेका लागि सूचना सार्वजनिक गरेको थियो, यत्ति धेरै स्थानीयबासिन्दा आउने आशा भने थिएन,’ मन्दिर जीर्णोद्धार उपभोक्ता समिति अध्यक्ष केशव तमखुले भने, ‘श्रमदान गर्न चाहनेको नामावली अझ लामो छ ।’ मन्दिर जीर्णोद्धार गर्न चाहने व्यक्ति वा समूहले श्रम गर्न आउनु पहिले नै नाम टिपाउनु पर्छ ।

तमखुका अनुसार मङ्गलबारसम्ममा पाँचतले मन्दिर जीर्णोद्धारका लागि ४५ वटा समूहको करिब २७ सय भन्दाबढीले श्रमदान गरिसकेका छन् । श्रमदान गर्न चाहने समूह अझ बढी भएको उनले बताए । मन्दिर जीर्णोद्धार गर्न आउनेमा महिला श्रमदाता बढी छन् ।

श्रमदानमा आउने नागरिक आफैं खाजा ल्याउँछन् । श्रम गर्न नभ्याउनेले श्रमदानमा खटिएकाहरुलाई खाजा, पानी दिन आउने समेत अध्यक्ष तमखु बताउँछन् । ‘विश्व प्रसिद्ध मन्दिर बनाउनु श्रद्धाको कुरा भयो, एक डल्ला माटो, दुईवटा इँटा भएपनि राख्ने भन्दै आउनुहुन्छ,’ उनी खुशीहुँदै बताउँछन्, ‘श्रम गर्न नभ्याउनेहरु पानी, फलफूल, चिसो लिएर आउनुहुन्छ ।’

श्रमदान मात्र होइन । मन्दिर जीर्णोद्धार तथा पुनर्निर्माणका लागि स्थानीयले निर्माण सामग्री र नगद उत्तिकै मात्रामा सहयोग गरेको गरेको छ । हालसम्म मन्दिर जीणोद्धारका लागि करिब १० लाख रुपैयाँ नगद तथा १५ हजार झिंगटी, मन्दिरको कर्नरको इँटा (क्वपु), ग्वंग अ:पालगायत सहयोग प्राप्त छ ।

२०७२ वैशाखको भूकम्पको धक्काले क्षति पुगेको विश्वसम्पदामा सुचीकृत पाँचतले मन्दिर जीर्णोद्धारका लागि भक्तपुर नगरपालिकाले ६५ लाख १३ हजार रुपैयाँ विनियोजन गरेको छ । उपभोक्ता समिति मार्फत गत मंसीर २५ मा सुरु भएको जीर्णोद्धारको काम चालुआर्थिकवर्ष ०७६/७७ असार मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य रहेको नगरप्रमुख सुनिल प्रजापतिले बताए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछिको २५ दिन मन्दिर जीर्णोद्धारको काम ठप्प भयो । मौलिकशैलीमा जीणोद्धार थालेको सम्पदा वर्षात्का कारण थप क्षति हुने भन्दै नगरपालिकाले श्रमदाताको सहयोगमा काम सुरु गरेको उनी बताउँछन् ।

भूकम्पले क्षति पुर्‍याएको पाँचतले मन्दिरको पाँचौ तला पूनर्निर्माण र अन्य चार तला जीर्णोद्धारको कार्य भईरहेको छ । १९९० सालको भूकम्पमा पनि मन्दिरको माथिल्लो तलामै क्षति पुगेको थियो । यसअघि राजा महेन्द्र शाहले २०१९ मा र नगरपालिकाले २०५६ मा जीर्णोद्धार गरेका थिए ।

इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार पाँचतले मन्दिर नेपाल संवत् ८२२ मा भूपतीन्द्र मल्लले बनाएका हुन् । १०८ फिट अग्लो अर्थात्, ३३ दशमलब २३ मिटर अग्लो मन्दिर वास्तुतन्त्र विधिअनुरुप बनेको छ । मन्दिरको टुप्पोको गजुर पूर्णताको प्रतिक समेत मानिन्छ । मन्दिर निर्माण सकेर आषाढ शुक्ल प्रतिपदाका दिन टुप्पोमा गजुर र झण्डा फहराएको प्रमाण फेला परेको श्रेष्ठ बताउँछन् । सोही दिनलाई पाँचतले मन्दिरको जन्मोत्सवको रुपमा झण्डा फहराउने प्रचलन छ । 


प्रतिक्रिया