प्रदेश १ मा कोरोना नियन्त्रणमा २७ करोड २८ लाख खर्च

असार १९, २०७७ | मोरङ

प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका लागि हालसम्म २७ करोड बढी खर्च गरेको जनाएको छ । प्रदेश सरकारले आज पत्रकार सम्मेलन गरी कोरोना नियन्त्रणका लागि हालसम्म २७ करोड २८ लाख ८९ हजार ८ सय ९० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको हो ।

 यस प्रदेशमा हालसम्मका ६ सय ५३ जना संक्रमित र उनीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा चिकित्सकको खाजा तथा खानमा मात्रै १ करोड २० लाख रुपैयाँ खर्च भएको प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो । यस्तै, कोरोना अस्पताल स्थापना आइसोलेसन वार्ड निर्माण, प्रयोगशालाका साथै आपतकालिन व्यवस्थापनमा ४ करोड ५१ लाख ४१ हजार ७ सय २० रुपैयाँ खर्च गरेको भएको छ । सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य सामग्री तथा उपकरण खरिदमा २ करोड १६ लाख ८८ हजार २० रुपैयाँ र कोभिड १९ परीक्षण सामग्री खरिदमा २ करोड ११ लाख ६० हजार रुपैयाँ खर्च भएको भट्टराईले बताउनुभयो ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयले कोशी अस्पताल अन्तर्गत साल्टट्रेडिङ भवनमा १० शैय्या भेण्टिलेटरसहित ५० शैय्याको कोभिड १९ उपचार केन्द्र निर्माणका लागि जनसुरक्षा कोषबाट २ करोड खर्च गरेको हिसाब सार्बजनिक गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोरोना संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण, उपचार र राहत वितरणका लागि स्थानीय तहलाई ९ करोड ४५ लाख बजेट बितरण गरेको खर्च सार्बजनिक गरेको छ ।

क्वारेन्टाइन तथा होल्डिङ एरिया व्यवस्थापन र १४ वटै जिल्लाका सुरक्षा निकायका साथै प्रदेशस्तरीय सुरक्षा कार्यालयहरुको सुरक्षा व्यवस्थाका लागि ५ करोड ८९ लाख गरी आन्तरिक मामिलाले जनसुरक्षा कोषबाट कूल १५ करोड २९ लाख खर्च गरेको प्रमुख सचिव भट्टराईले बताउनुभयो । 


प्रतिक्रिया