बालबालिकालाई आज र भोली भिटामिन 'ए' खुवाईदै

असार २२, २०७७ | काठमाडौं

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भिटामिन 'ए' र जुकाको औषधि खुवाउँदै छ । कोभिड–१९ को कारण स्थगित भिटामिन 'ए' खुवाउने कार्यक्रम आज र भोलीका लागी सारिएको थियो । 

गएको वैशाख ६ र ७ गते तय गरिएको भिटामिन 'ए' खुवाउने कार्यक्रम लकडाउनको कारण स्थगित गरिएको थियो । राष्ट्रिय भिटामिन 'ए' कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाइने छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन 'ए' खुवाउन थालिएको हो । हरेक वर्ष भिटामिन 'ए' खुवाउने कार्यक्रममा २७ लाख तीन हजार पाँच सय २२ बालबालिका सहभागी हुने गरेका छन् । जुकाको औषधि २०५८ सालदेखि हरेक वर्ष दुई पटक खुवाउने गरिएको छ ।

यस्तै पोषण तत्वले बनेको बालभिटा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई खुवाउने गरिन्छ । बालभिटा २०६६ सालदेखि खुवाउन थालिएको हो । अहिले ४१ जिल्लाका बालबालिकालाई खुवाउने गरिन्छ । राष्ट्रिय भिटामिन 'ए' कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविक खटिएका छन् ।


प्रतिक्रिया