दुई अध्यक्षबीचको विवादले स्थायी कमिटी बैठक नै अन्योलमा

 फाइल तस्बिर

असार २६, २०७७ | काठमाडौं

सत्तारुढ नेकपामा अध्यक्षद्वयबीचको छलफल लम्विएपछि स्थायी कमिटी बैठक आज पनि अन्यौलमा परेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालवीच सहमतिका लागि भन्दै पटक पटक स्थगित हुँदै आएको स्थायी कमिटि बैठक आजपनि अन्योलमा परेको हो ।

सरकारको विषय, पार्टी सञ्चालन तथा नेतृत्व व्यवस्थापन सम्वन्धमा दुई अध्यक्षवीचको छलफल लम्विएकाले आज बस्ने भनिएको स्थायी कमिटि बैठकको सम्भावना कम रहेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार एवं कमिटि सदस्य विष्णु रिमालले जानकारी दिनुभयो । 

गत १० गतेदेखि शुरु बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागेपछि राष्ट्रिय राजनीतिका अन्य थुप्रै मुद्धा ओझेलमा परेका छन् । सरकारको नियमित काम कारवाहीको समिक्षा, भारतसंगको सीमा विवाद, एमसीसी लगायतका विषयमा स्थायी कमिटि बैठकमा छलफल गर्ने भनिएपनि प्रधानमन्त्रीको राजिनामामा केन्द्रीत भएपछि बैठक पटक पटक स्थगित हुदै आएको छ ।

यसअघी अध्यक्ष दाहालले हिजो दोस्रो तहका नेताहरुसंग छुट्टै भेट गर्दै सहमतिको विकल्प नभएकाले प्रभावकारी भूमिका खेल्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीसंग आफ्नो छलफल जारी रहेकाले स्थायी कमिटि बैठक बस्न अझै केही समय लाग्न सक्ने अध्यक्ष दाहालको भनाई उदृत गर्दै नेता सुभाष नेम्वाङले बताउनुभयो ।

यसैबीच अध्यक्षद्धय ओली र दाहालवीच बालुवाटारमा आज पनि छलफल हुँदैछ । स्थायी कमिटि बैठक अझे केहीदिन पछि धकेल्ने र सहमतिका लागि दुई अध्यक्षबीच आजपनि छलफल हुने नेता रिमालले बताउनुभयो । 


प्रतिक्रिया