विज्ञको सुझाव सुन्दैन सरकार

असार २८, २०७७ | काठमाडौं

पछिल्लो केहीदिन यता मुलुकमा कोरोना भाइरसका संक्रमितको संख्या घट्दो क्रममा रहेको दाबी सरकारले गरेको छ । लक्षण देखिएका बिरामीको मात्रै परीक्षण गर्दै आएको कारण कोरोना संक्रमितको संख्यामा कमी आएको हो । त्यसैले अचेल क्वारेन्टिनमा बसेका तर, लक्षण नदेखिएकाहरु धमाधम घर फर्किन थालेका छन् । परीक्षण नै नगराई क्वारेन्टिनबाट सीधै घर पठाउँदा समुदायमा कोरोना संक्रमण फैलिने खतरा बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

गतसाता देखि नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या घट्दै गएको छ । दैनिक ६ देखि ७ सय सम्म संक्रमित देखिने गरेकोमा हाल त्यो संख्यामा ह्वात्तै घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको केही दिनयताको तथ्याङ्क अनुसार असार २४ गते गत बुधबार २ सय ५५, २५ गते १ सय ८, २६ गते १ सय १८, २७ गते ७० जना र २८ गते ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म भारत लगायत तेस्रो मुलुकबाट आएका व्यक्तिमा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य विज्ञका अनुसार नेपालमा अहिलेसम्म समुदायमा संक्रमण फैलिएको छैन । काठमाडौं उपत्यकामा यसको झिल्को मात्रै देखिएको छ । भारतबाट नेपाल भित्रिनेको संख्यामा आएको कमीले पनि संक्रमितको संख्या घट्नमा मद्दत पुगेको विज्ञहरुले बताएका छन् । 

पछिल्लो समय सरकारले कोरोना परीक्षणको दायरा घटाउनु नै संक्रमितको संख्यामा कमी आउनुको मुख्य कारण भएको उनीहरुले बताउँछन् । समुदायमा स्तरमा परीक्षणको दायरा बढाउने हो भने समाजमा संक्रमणको स्तर पहिचान हुने जनस्वाथ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताउनुभयो । समुदायमा बढी भिडभाड हुने ठाउँमा कोरोना परीक्षण आवश्यक भएको भन्दै उहाँले हाल परीक्षण नै नभएका कारण संक्रमितको संख्यामा कमी आएको बताउनुभयो ।

‘अत्यधिक भिडभाड हुने, मास्क नलगाउने तथा सामाजिक दूरी कायम गर्न सम्भव नभएका स्थानहरुमा परीक्षणको दायरा बढाउने हो भने हाम्रो समाजमा कुन स्थानमा छ संक्रमण भन्ने कुरा थाहा हुन्छ, उहाँले भन्नुभयो, ‘परीक्षण नै नभएका कारण संक्रमितको संख्या घटेको हो । संक्रमितको संख्या एकीन गर्नका लागि परीक्षण अनिवार्य छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको दायर बढाएको बेला संक्रमितको पहिचानमा पनि सहज भएको थियो र संक्रमितको संख्या पनि बढी नै देखिएको थियो । तर, मन्त्रालयले कोरोनाको संक्रमण देखिएका व्यक्तिको मात्र पीसीआर परीक्षण गर्ने निर्देशन दिएपछि परीक्षणको दायरा घटेको छ । परीक्षण नभएपछि क्वारेन्टिनमा बस्नेका पनि लक्षण नदेखिएको भन्दै घर फर्किएपछि क्वारेन्टिनमा बस्नेको संख्या पनि घटेको छ । 

संक्रमण बढी भएका देशहरुले कसरी रोकथाम गरिरहेका छन् भन्ने बारे नेपालले पनि सिक्नु पर्ने जनस्वाथ्य विज्ञ डा. पाण्डेले बताउनुभयो । लक्षण नदेखिएका व्यक्तिले पनि कोरोना सार्न सक्ने भएकाले सचेत हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लक्षणबिहीनले पनि कोरोना सार्न सक्छ । जो व्यक्तिमा लक्षण छ, खोक्छ, हाच्छ्यूँ गर्छ, उसले धेरै जनालाई संक्रमण सार्छ । तर, लक्षणबिहीनले थोरैलाई मात्र सार्छ ।’ सरकारले जोखिमयुक्त क्षेत्र पहिचान गरी ती स्थानका बासिन्दामा प्रभावकारी रुपमा परीक्षण गर्नुपर्ने उहाँको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको लक्षण नदेखिएका बिरामीको कोरोना परीक्षण बन्द गरेको छ । स्थानीय संक्रमण रोक्नका लागि सरकारले विदेशबाट आएका व्यक्तिलाई १४ दिन क्वारेन्टिनमा राखेर मात्रै घर पठाउने गरेको छ । तीमध्ये संक्रमणको लक्षण देखिएकालाई पीसीआर र नदेखिएकालाई आरडीटी परीक्षण गर्ने गरिएको छ । क्वारेन्टिनमा भएका व्यक्तिको मात्र परीक्षण गरेको भए पनि संक्रमणको अवस्था पहिचान हुने बताउँछन् संक्रमण जनस्वाथ्य विज्ञ डा. शरद वन्त ।

कोरोना परीक्षणको दायरा बढाउन माग गर्दै विज्ञहरुले सरकारलाई पटकपटक सुझाव दिएका थिए । तर, ती कार्यान्वयन भएनन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा समेत संक्रमण देखिएको अवस्थामा संक्रमण घटेको भन्न नमिल्नेसंक्रमण रोग विशेषज्ञ डा अनुप सुवेदीले बताउनुभयो । अधिकांश संक्रमित लक्षणबिहीन भएको अवस्थामा आयातित संक्रमण चुनौतीपूर्ण हुन सक्ने बताउँछन् संक्रमण रोग विशेषज्ञ डा सुवेदी ।

असारबाट दैनिक १५ हजार जनाको पीसीआर परीक्षण गर्ने बताएको सरकारले अहिले दायरा घटाएर संक्रमितको संख्या कम भएको देखाउँए खोजिएको छ । पछिल्लो २४ घण्टामा करीब ४ हजार जनाको मात्र पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

कोरोना परीक्षणको दायरा बढाउन माग विज्ञहरुले सरकारलाई पटकपटक आग्रह गर्दै आएका छन् । आफूहरुले दिएको सुझाव कार्यान्वयनमा सरकार उदासिन देखिएको गुनासो विज्ञहरुको छ । पीसीआर परीक्षण बढाउन माग गर्दै हजारौं सर्वसाधारण सडकमा उत्रिए । तर, सरकारले भने परीक्षणको दायरा घटाएर संक्रमितको संख्यामा कमी आएको देखाउन खोज्दैछ । सरकारी हेलचक्र्याइँका कारण भोलिका दिनमा कोरोना संक्रमणले समुदायमा भयावह रुप लिन सक्ने खतरा विज्ञहरुले औल्याएका छन् । यसमा नागरिक पनि उत्तिकै सचेत हुनुपर्ने उनीहरुको सुझाव छ । 


प्रतिक्रिया