बाढी पहिरोले तनहुँमा ७ को मृत्यु, ५ जना बेपत्ता (अपडेट)

तनहुँको रिसिङ गाउँपालिका–८ स्थित भैसिलिकिमा पहिरोले पुरिएकाहरुको खोजी हुँदै । तस्विर: सम्झना रसाइली/कान्तिपुर 

असार २९, २०७७ | तनहुँ

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण तनहुँका विभिन्न स्थानमा पहिरो जाँदा हालसम्म ७ जनाको मृत्यु भएको छ । पहिरोमा परेर ५ जना हराईरहेका छन् भने ३ जनालाई घाईते अवस्थामा उद्दार गरिएको छ । पहिरोमा हराईरहेकाको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ । 

अन्य क्षति विवरण संकलनमा सरोकारवाला निकाय तथा स्थानीय नागरिकसँग समन्वय गरी नेपाल प्रहरी र अन्य सुरक्षा निकाय लागिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोमा परेर व्यास नगरपालिका–९ माझफाँटका ७० वर्षीया मैत कुमारी घर्ती, माझफाँटका एकै परिवारका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज, २१ वर्षीया छोरी अन्जना थापाको मृत्यु भएको छ । यस्तै, पहिरोमा परी म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १७ वर्षीया लक्ष्मी विक गम्भीर घाइते भएकी र उनको उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै, पहिरोले घर पुर्दा रिसिङ गाउँपालिक–८ पल्ट्याङका ३० वर्षीय भेष बहादुर थापा, १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको छ ।

पहिरोमा परी रसिङ गाउँपालिका पल्ट्याङ बस्ने २९ वर्षीया नानु माया थापा, उनकी ५ वर्षीया छोरी अमिषा, अन बहादुर थापाको कान्छो छोरा वर्ष २२ का महादेव थापा, व्यास नगरपालिका–९ माझफाँटका २० वर्षका राजेश थापा, व्यास–११ ओडारेका अन्दाजी ४५ वर्षीय पदम बहादुर भुजेल बेपत्ता छन् । उनिहरुको खोजी कार्य जारी राखिएको छ ।

यस्तै, घाइते अवस्थामा उद्धार गरिएको रिसिङ गाउँपालिका–८ पल्टयाङ भैसिलिकिका ६० वर्षीया ज्योतीमाया थापा, व्यास–९ का ५० वर्षीय केशव थापालाई थप उपचारका लागि पोखरा पठाइएको र व्यास–९ की २६ वर्षीया झनुमाया कुवारको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया