वीपी प्रतिष्ठानका रजिष्ट्रार रेग्मीले कार्यभार सम्हाले

श्रावण ८, २०७७ | सुनसरी

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त रजिष्ट्रार प्रा.डा.मोहन चन्द्र रेग्मीले बिहीबारबाट कार्यभार सम्हालेका छन् । रेग्मी प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागका प्रमुख पनि हुन् । 

रजिष्ट्रार पद रिक्त रहेको एक वर्षपछि सरकारले आगामी पाँच वर्षका लागि रेग्मीलाई नियुक्त गरेको हो । प्रा.डा. रेग्मीलाई तीनदिन अघि प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले रजिष्ट्रार पदमा नियुक्त गरेको हो । 

प्रतिष्ठानमा पहिलो पटक चिकित्सा क्षेत्रकै र प्रतिष्ठान भित्रै कार्यरत चिकित्सकलाई रजिष्ट्रार नियुक्ति भएको हो । कार्यभारत सम्हाल्नु अघि प्रतिष्ठानले नवनियुक्त रजिष्ट्रारको स्वागत तथा पदभार ग्रहण कार्यक्रम आयोजना गरेको थियो ।

 कार्यक्रममा नवनियुक्त रजिष्ट्रार रेग्मीले चुनौतीपूर्ण समयमा आफू प्रतिष्ठानको रजिष्ट्रार पद सम्हाल्न आइपुगेको उल्लेख गर्दै प्रतिष्ठानलाई अग्रगति दिन सबै पदाधिकारी, विभागीय प्रमुख, सहकर्मी, कर्मचारीसँग सहकार्य, समन्वय गरेर अघि बढ्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘म यही प्रतिष्ठानको विद्यार्थी भएर चिकित्साशास्त्र अध्ययन गरेँ । यही ठाउँमा चिकित्सक भएर काम पनि गर्दै आएको छु । अब चिकित्सा पेशासँगै रजिष्ट्रार जस्तो प्रशासनिक क्षेत्रमा पनि आफ्नो विवेकले भ्याएसम्म प्रतिष्ठानको हितमा पाँच वर्ष समय समर्पण गर्ने छु ।’

प्रतिष्ठानको एक/एक समस्या बारे आफू जानकार भएको भन्दै उहाँले आगामी दिनमा सामूहिक निर्णयको आधारमा समस्या समाधान गर्ने बताउनुभयो । बिरामी र चिकित्सक बीचको दूरी कम गर्न सूचना प्रविधि मैत्री बनाउन र प्रतिष्ठानको आर्थिक श्रोतको पाटोलाई थप मजबुत बनाउन फाइनाइन्सियल सिस्टमलाई सुधारे आधुनिक बनाउन पहल गर्ने उहाँको भनाई थियो । 

प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालय बनाउने प्रयत्न हुँदै : उपकुलपति

प्रतिष्ठानका उपकुपति प्रा.डा.ज्ञानेन्द्र गिरीले नवनियुक्त रजिष्टार रेग्मीको स्वागत गर्दै पूर्ण विश्वविद्यालयको रुपमा परिवर्तन गरी वीपी प्रतिष्ठानलाई चिकित्साशास्त्रको उच्च शिक्षा दिने, गुणस्तरीय विशिष्ट उपचार सेवा दिने र अनुसन्धानमा उत्कृष्ट केन्द्रका रुपमा पहिचान दिलाउन प्रयत्नरत रहेको बताउनुभयो ।

अस्पतालको स्तरोन्नति, निर्माणाधिन मातृशिशु भवनको सम्पन्न र सञ्चालन, कार्डियोलोजी र क्यान्सर सम्बन्धी केन्द्रको स्थापना, ट्रमा सेन्टर, अंग प्रत्यारोपण केन्द्रको स्थापना, औषधि उद्योगको स्थापना, विभिन्न शैक्षिक विभागको स्थापना सहित भौतिक पूर्वाधार निर्माण र विकासको लक्ष्यमा गुरु योजना सहित प्रतिष्ठान अगाडि बढीरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विभिन्न ठाउँमा रहेका प्रतिष्ठानका जग्गा र सम्पत्तिको संरक्षण सहित सार्वजनिक निजी साझेदारी अन्तर्गत ती ठाउँहरुको विकास र स्वास्थ्य सहितको अन्य सेवा विस्तार गर्ने योजना प्रतिष्ठानले बनाएको छ ।’

उहाँले प्रतिष्ठानको जनशक्तिको उचित विकासका लागि जनशक्ति विकास कार्यक्रम, विदेशी विश्वविद्यालयसँगको सम्बन्ध विस्तार गर्ने कार्यमा प्रतिष्ठान अग्रसर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिष्ठानको संकायगत प्राज्ञिक अनुसन्धानात्मक जर्नलहरूको प्रकाशन, विद्यार्थीहरुका लागि खेलकुद तथा रचनात्मक क्रियाकलापहरुको सञ्चालन र अन्य प्राज्ञिक प्रवर्दनात्मक कार्यक्रमहरु गर्ने कार्यमा प्रतिष्ठान अग्रसर रहेको छ ।

उहाँले नेपालको उच्च शिक्षा सम्बन्धी नीति अनुरुप प्रतिष्ठानको परीक्षा प्रणालीमा सुधार गर्दै गुणस्तर निर्धारण संयन्त्रको विकासमा ध्यान दिने, अनुगमन तथा मुल्यांकन प्रणालीको सुदृढिकरण गर्ने, शैक्षिक क्यालेन्डरको कडाईका साथ् पालना र कार्यान्वयन गर्ने, प्राध्यापकहरुका लागि शिक्षण सिकाईको प्रभावकारीताका निम्ति सीप विकास र प्राज्ञिक विकासका कार्यक्रमहरु गर्नेतर्फ प्रतिष्ठान कटिबद्ध रहेको पनि बताउनुभयो । 


प्रतिक्रिया