वरिष्ठ संगीतकार जोशीको निधन

श्रावण ११, २०७७ | हेटौंडा

वरिष्ठ संगीतकार एवं वाद्यवादकका धनी सर्जक ओस्ताज भोला जोशीको हेटौंडामा आइतबार निधन भएको छ । मधुमेह र श्वासप्रश्वास रोगबाट ग्रसित ७८ वर्षीय जोशीको आइतबार निधन भएको हो । 

हार्मोनियम, बासुरी, तबला लगायत सबै किसिमका बाजा सीपयुक्त ढंगले बजाउने शास्त्रीय संगीतका ज्ञाता जोशीले २०२२ सालदेखि नै संगीत भरेका गीतहरु रेडियो नेपालमा बज्ने गरेका थिए । 

जोशीले पटक/पटक रेडियो नेपालमा वाद्यवादन क्षेत्रमा जागिरका लागि धेरै प्रयत्न गरे तर, सफल हुन सकेनन् । शास्त्रीय संगीत र वाद्यवादनमा उच्चस्तरीय सीप भएका जोशीले रेडियो नेपालमा आफन्त नभएका कारणले जागिर पाउन सकेनन् । 

जोशीले नेपाल एकेडेमीमा वाद्यवादन प्रमुख भएर केही समय जिम्मेवारी सम्हाले पनि उनलाई लामो समय टिक्न दिएन । ‘कला र क्षमता भएका तर भाग्यले ठगीएका व्यक्ति हुन् जोशी,’ भीमविराग प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एवं वरिष्ठ साहित्यकार तुल्सी थापाले भन्नुभयो, ‘यहाँ कला र क्षमता मात्र भएर अवसर पाईदैन, त्यो विगतदेखि अहिलेसम्म कायम छ, त्यस्को शिकार भएका हुन जोशी ।’

संगीतकार जोशीको यस क्षेत्रमा सयौं चेलाहरु छन् । जस्ले उनीबाट वाद्यवादन सिके । ५ दशकअघि राप्ती क्लब भैसेमा जोशीले वाद्यवादन सिकाएका थिए । उनले भैसे, हेटौंडा लगायत विभिन्न विद्यालयमा शिक्षक भएर पनि सेवा योगदान थिए । तर, स्थायी हुन सकेनन् । १९९९ सालका जन्मेका जोशी भूकम्प पीडित हुन् । 

हेटौंडा उपमहानगरपालिका–९ मा रोटरी क्लब हेटौंडाले गत वर्ष उनी बस्नका लागि भवन निर्माण गरिदिएको थियो । उनको पत्नि, एक छोरा र २ छोरी छन् ।  


प्रतिक्रिया