श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुखमाथि कुटपिट

श्रावण १७, २०७७

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम प्रसाद सञ्जेलमाथि शनिबार कार्यकक्षमै कुटपिट गरिएको छ । भ्रष्टाचार विरोधी छवि बनाएका सञ्जेललाई उनकै कार्यालयका कर्मचारीहरुले कुटपिट गरेका हुन् । 

कार्यालयका सहयोगीद्व नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला) ले सञ्जेलमाथि कुटपिट गरेको जिल्ला प्रहरी मोरङका डीएसपी लोकदर्शन थापाले बताउनुभयो । दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । दुबै जना मिलेर टेबुलमाथि राखेको पेपर वेट, चप्पल, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीले जनाएको छ । 

कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । सञ्जेलले आफूहरुलाई काममा धेरै पेलेको, तनाव र दु:ख दिने नियत राखेको, बारम्बार गाली गलौज गर्ने गरेका कारण कुटपिट गरेको उनीहरुले प्रहरीलाई बताएका हुन् ।

कुटपिटमा संलग्न दुबै जना शनिबार बिहान १० बजे कार्यालयमा आइपुगेका थिए । त्यतिबेलै आइपुगेका सञ्जेललाई उनकै कार्यकक्षमा चुक्कुल लगाएर आक्रमण गरिएको प्रहरीले जनाएको छ । सञ्जेल सबै सार्वजनिक बिदाका दिन पनि कार्यालयमै आएर काम गर्ने गर्छन् ।

प्रत्येक दिन राति आठ, नौ बजेसम्म उनी सधैं कार्यालयकै काममा व्यस्त हुन्छन् । भ्रष्टाचार विरुद्धमा निक्कै आक्रमक हुने उनी आफू भ्रष्टाचार नगर्ने र आफ्नो कार्यालयमा कार्यरत कोही पनि कर्मचारीलाई भ्रष्टाचार गर्न नदिने बताउँदै आएका छन् ।

निक्कै खरो स्वभावका सञ्जेल कार्यालयमा हुने ढिलासुस्तीको पनि विरोधी हुन् । काममा झारा टार्ने, ढिलासुस्ती गर्ने, घूस खाने र सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह नगर्ने कर्मचारीलाई उनले तत्कालै कारबाही गर्ने गरेका छन् । काममा ढिलासुस्ती गर्ने, झारा टार्ने व्यवहार गर्ने कर्मचारीलाई सञ्जेलले अभद्र गाली गलौज पनि गर्दै आएका थिए ।

डीएसपी थापाले सञ्जेलमाथि कुटपिट हुनुको कारण मध्ये एउटा अभद्र गाली गलौज पनि रहेको बताउनुभयो । कुटपिट गर्ने कर्मचारी र सञ्जेललाई एकै ठाउँ राखेर अहिले जिल्ला प्रहरी मोरङमा छलफल भइरहेकोले उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया