उपचार गर्न आएका दम्पतीमा कोरोना संक्रमण

श्रावण ३०, २०७७ | धरान

– उदयपुरबाट उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार शल्यक्रिया गर्नु पर्ने रोग लागेकी श्रीमतीको उपचारका लागि श्रीमान पनि संगै आएका थिए ।

प्रतिष्ठानमा शल्यक्रिया गर्नु पर्ने भएपछि पिसिआर परीक्षण गर्दा श्रीमतीको रिपोर्ट कोरोना पोजेटिभ देखिएको हो । श्रीमतीको कोरोना पोजेटिभ आएपछि श्रीमानको पनि स्वाव संकलन गरेर पिसिआर परीक्षण गर्दा उनको पनि पोजेटिभ आएको मेहताले बताउनुभयो ।दुबै दम्पतीलाई प्रतिष्ठानको आइशोलेसन वार्डमा राखिएको छ भने उनीहरु बसेको होटललाई पनि शिल गरेर होटल संचालकका परिवार र सम्पर्कमा आएका सबैको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर प्रतिष्ठानमा पठाइएको छ ।

यसैगरी धरान ९ पुतलीलाइनस्थित विजयपुुर हस्पिटलको आइशोलेसन वार्डलाई पनि शिल गरिएको छ । अस्पतालका प्रबन्ध निर्देशक प्रभाव खतिवडाका अनुसार धरान १५ बस्ने ६७ बर्षीय एक पुरुषलाई निमोनिया भएर उपचारका लागि आएका थिए । उपचार गर्दै कोरोना संक्रमण पनि हुन सक्ने आशंका गरेर स्वाब संकलन गरेर प्रतिष्ठानमा पठाइएको थियो । उनको पिसिआर रिपोर्ट कोरोना पोजेटिभ देखिएपछि आइशोलेसन वार्ड शिल गरिएको खतिवडाले बताउनुभयो । सुनसरीमा शुक्रबार २२ जना कोरोना संक्रमित थपिएका छन् । 


प्रतिक्रिया