विराटनगरका निजी अस्पतालले बनाउन थाले आइसोलेसन

भाद्र १२, २०७७ | विराटनगर

विराटनगरस्थित निजी अस्पतालहरुले आइसोलेसन बनाउन थालेका छन् । न्यूरो अस्पतालले ५१ शय्याको आइसोलेसन अस्पताल निर्माण गरेको अस्पतालका निर्देशक राजेश भट्टराईले बताउनुभयो । यस्तै, विराटनगर अस्पताल प्रालिले सञ्चालन गरेको विराट नर्सिङ होम र विराट शिक्षण अस्पतालले पनि छुट्टै भवनमा ६० शय्याको आइसोलेसन अस्पताल निर्माण गरेका छन् । 

नर्सिङ होम एक सय र शिक्षण अस्पताल दुई सय शय्याको रहेको अस्पतालका व्यवस्थापक पदम बिनारीले बताउनुभयो । नोबेल शिक्षण अस्पतालले पनि ५७ शय्याको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको छ । ७ सय ५० शय्याको सो अस्पतालमा आइसियू र भेण्टिलेटरका लागि ३० शय्याको व्यवस्थापन गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले बताउनुभयो । 

अन्य अस्पतालहरुले चाँडै आइसोलेसन अस्पताल तयार गरेर सञ्चालनमा ल्याउने बताएका छन् ।  


प्रतिक्रिया