मायादेवी मन्दिरमा नित्य पूजा सुरु

भाद्र १७, २०७७ | कपिलवस्तु

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा दैनिक नित्य पूजा थालिएको छ । मायादेवी मन्दिर भित्र मार्कर स्टोन अघि दैनिक बिहान र साँझ ६ बजे नित्य पूजा गरिने छ । विश्व शान्तिको मुहानमा दैनिक पूजाआजा गरेर शान्ति र आध्यात्मिकता फैलाई लुम्बिनीको पवित्रता बढाउन पूजाआजा थालिएको हो । 

भाद्र पूर्णिमाका दिन बुधबार बिहान लुम्बिनीमा रहेका भिक्षु, गुरुमा, आनी र लामाले सामूहिक रुपमा नित्य पूजा गरेर सुरु गरेका छन् । अखिल नेपाल भिक्षु महासंघको संयोजन र लुम्बिनी विकास कोषको आयोजनामा अब पूजा दैनिक हुनेछ । कोषले पूजा सामग्री प्रदान गर्नेछ । महासंघले पूजाआजाका लागि पालो बनाएको छ । 

एकदिन थेरबाद र अर्को दिन महायानीले पूजाआजा गर्ने छन् । लुम्बिनीका २५ बिहारमा भिक्षु, गुरुमा, लामा र आनीहरु बस्छन् । ‘संसारका पवित्र र धार्मिक स्थलमा दैनिक पूजाआजा गर्ने चलन छ,’ भिक्षु महासंघ अध्यक्ष भिक्षु मैंत्री महाअस्थवीरले भन्नुभयो, ‘यहाँ नहुँदा खल्लो महसुस भएको थियो । त्यही भएर शान्ति र आध्यात्मिकताको ऊर्जा दिने गरी यो पूजा थालेको हौं ।’ 

कोरोना भाईरस संक्रमणका कारण सीमित भिक्षु लामा सहभागी बनाएर भौतिक दूरी कायम गरेर नित्यपूजा सुरु गरेको उहाँले जानकारी दिनुभयो । कोष सदस्य सचिब ज्ञानीन राईले पछि यसलाई विशेष बनाउने बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘पूजा हेर्ने गरी तिर्थालु र पर्यटकलाई यहाँ आकर्षण गर्ने योजना बनाएकाछौं । लुम्बिनीमा पर्यटक भुलाउने र अध्यामिकता बढाउन यस्ले सहयोग गर्छ ।’ सन् १९९६ देखि १९९८ सम्म लुम्बिनीमा नित्य पूजा भई त्यसपछि रोकिएको थियो । जनजीवन सामान्य रुपमा फर्केपछि बिहानको नृत्य पूजासंगै मन्दिर खोलिने भएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत लुम्बिनी मुलुकको प्रमुख पर्यटकीय गन्तब्य हो । 


प्रतिक्रिया