रातो मत्स्येन्द्रनाथको रथ धमा: फल्चासम्म पुर्‍याइयो

भाद्र १८, २०७७ | ललितपुर

रातो मत्स्येन्द्रनाथ रथ यात्रा बारेमा सरकार गम्भीर नभएको भन्दै पाटनबासील बिहीबार पुल्चोकमा प्रर्दशन गरेका छन् । उनीहरुले मत्स्येन्द्रनाथ यात्रा सांस्कृतिक बाजागाजा सहित जात्रा गर्नुमा मात्र सरोकार नभएर ६/६ महिना बुङमती र पाटनमा राख्ने परम्परा रहेकोमा अहिले बुङमती पुर्‍याउन चासो नदिएको भन्दै प्रर्दशनमा उत्रिएका हुन् ।

उनीहरुले पुल्चोकबाट रथ तानेर अलि पर धमा:फल्चा (पाटी) सम्म पुर्‍याएका छन् । मत्स्येन्द्रनाथ सूर्य दक्षिणायन हुँदा बुङमती र उत्तरायण हुँदा पाटन मत्स्येन्द्रबहालस्थित मन्दिरमा बास बसाल्नुपर्ने परम्परा छ । 

यो भारत असमको कामरुपका माक्ष पर्वतबाट मत्स्येन्द्रनाथ नेपाल ल्याउन भूमिका खेलेका भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव मल्ल, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजुको पालादेखि चल्दै आएको परम्परा हो । सौर्यमास तिथि अनुसार श्रावण कृष्ण एकादशी (साउन १ गते) बाट सूर्य दक्षिणायन भएको थियो । 

यो पुस मसान्तसम्म अर्थात ६ महिना चल्छ । स्थानीय पृथबिन्दु महर्जन भन्छन्, ‘यात्राको लागि लाखौं रुपैयाँ खर्चेर रथ निर्माण गरियो । अहिले अनिर्णयको बन्दी बनाएर मत्स्येन्द्रनाथलाई बिचल्लीमा छोडियो ।’

मत्स्येन्द्रनाथका ज्योतिषी कीर्तिमदन जोशीका अनुसार असोज २ गतेबाट एक महिने मलमास छ । मलमासमा रथ यात्रा गर्न मिल्दैन । मलमास सक्केको चार दिनपछि दशैं सुरु हुन्छ । दशैंमा बुङमतीमा मत्स्येन्द्रनाथको विषेश पूजा गर्नुपर्छ । 

दशैं सम्ममा बुङमती पुर्‍याउन सकेन भने मत्स्येन्द्रनाथलाई भक्तपुर लैजाने विश्वास छ । मत्स्येन्द्रनाथलाई साउन १० गते नाग पञ्चमीको शुभसाइतमा पुल्चोकमा रथारोहण गरिएको थियो । परम्परा अनुसार रथारोहणको भोलिपल्ट रथ तान्ने गरिन्छ । तर, यो वर्ष भने कोरोना भाइरसको महामारीका कारण रथ यात्रा सुरु हुन सकेको थिएन । 


प्रतिक्रिया