रातो मत्स्येन्द्रनाथको रथ आज दिउँसो तानिने

भाद्र २१, २०७७ | ललितपुरं

रातो मत्स्येन्द्रनाथको रथ आज साँझ ४ बजे तानिने भएको छ । रथ हाल रहेको स्थान पुल्चोकस्थित धमा: फल्चाबाट अलि पर सोह्रखुट्टे पाटीसम्म तानिने भएको हो । ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनका अनुसार रथ यात्रामा गा:बहाल, सुनधारा, लगनखेल र जावलाखेलका पालो खलकबाट एउटा/एउटा धिमे बाजा र समिति जनशक्ति बसेर यात्रा गरिनेछ ।

रथ यात्रामा १७ औं शताब्दीका मल्लकालिन राजा सिद्धिनरसिंहको ऐतिहासिक राज खड्ग पनि राजकीय सम्मानका साथ समारोह स्थलमा पुर्‍याइने र गुरुजु पल्टनको पनि सहभागी गराइने उहाँको भनाई छ । रथ तान्ने दिनलाई पाटनबासीले ‘छोय्ला बु’ पर्व मनाउने गर्दछन् । 

परम्परा अनुसार ‘छोय्ला बु’ पुल्चोकबाट रथ गा:बहाल पुगेपछि गा:बहाल क्षेत्र वरिपरिका टोलबासी, सुन्धारा र लगनखेल पुगेपछि आ–आफ्नो क्षेत्रका बासिन्दाले मनाउने गरिन्छ । तर, यस वर्ष कोरोना भाइरस (कोभिड–१९) का कारणले गा:बहाल, सुन्धारा र लगनखेल क्षेत्रका सबैले आइतबार मनाएका छन् । 

अब सोमबार ‘भूज्या:’ पर्व मनाउँछन् । सोही दिन मत्स्येन्द्रनाथ बुङमती पुर्‍याउने साइत हेरिन्छ । सम्भवत साइत २६ गते रहन सक्ने ज्यापु समाजका अध्यक्ष महर्जनले बताउनुभयो । साइत जुरेमा मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा बाकेर पुजारीहरुले बुङमती पुर्‍याइनेछ । 

यस वर्ष नरिवल खसाल्ने र भोटो भने नदेखाइने भएको छ । रथ यात्रा गर्न शनिबार मत्स्येन्द्रनाथका पुजारी, बाराही, यँवाल गुठीयार, धकुले छुट्टाछुट्टै रुपमा क्षमापूजा गरेका थिए । रथमा बाराहीहरुले काठ, यँवालहरुले बेत र धकुले ब्रेक लगाउने गर्छन् ।


प्रतिक्रिया