नुवाकोटमा अवैध रुपमा सञ्चालित ५ क्रसर उद्योगको लाइन काटियो

फाइल फोटो 

आश्विन ७, २०७७ | नुवाकोट

अवैध रुपमा सञ्चालित नुवाकोटमा ५ वटा क्रसर उद्योगको बिजुलीको लाइन काटिएको छ । सर्वोच्च अदालतको आदेश विपरीत सञ्चालित जिल्लाका पाँच वटा क्रसर उद्योगको बिजुलीको लाइन काटिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो । ‘ती उद्योगहरुको लाईन काटिएको छ,’ उहाँले भन्नुभयो, ‘विधि र नियमसंगत नरहेकाले काटिएको हो ।’

विद्युतको लाइन काटिने क्रसर उद्योगहरुमा विदुर नगरपालिका–५ गंगटे भन्ज्याङ मुनि भुन्टेरहस्थित वर्डस्टोन क्रसर उद्योग, लिखु गाउँपालिका–४ गणखारस्थित क्षेत्रपाल क्रसर उद्योग, लिखु गाउँपालिका–१ ढिकुरेस्थित सूर्यकुण्ड रोडा ढुङ्गा उद्योग, तादी गाउँपालिका–३ मा रहेको दुप्चेश्वर रोडा ढुङ्गा क्रसर उद्योग र पञ्चकन्या गाउँपालिका–२ स्थित आँप्रमास्थित नेश्नल लाईभ एण्ड स्टोन कम्पनी प्रालि छन् ।

स्थानीय प्रशासनको अनुगमन टोलीसँगै गएर बिजुलीको लाइन काटिएको विद्युत प्राधिकरण त्रिशूली वितरण शाखाले जनाएको छ । ती पाँच वटा उद्योगहरुमा सिल समेत गरिएको छ । सोमबार जिल्ला समन्वय समितिले सिल गरिएको उद्योग खोल्न जनप्रतिनिधिहरुले स्थानीय प्रशासनलाई दबाब दिएका थिए । 

स्थानीय प्रशासनले सर्वोच्च अदालतको आदेश भएकाले नियम विपरीत खोल्न नमिल्ने भन्दै ती उद्योगहरुलाई नियमसँग मापदण्ड पुर्‍याएर खोल्नुपर्ने स्थानीय प्रशासनले बताएको थियो । सिल खोल्न जनप्रतिनिधिहरुले प्रजिअ ढकाललाई दबाब दिंदै जिल्लाबाट सरुवा गरिदिने सम्मको धम्की दिएका थिए । 

जनप्रतिनिधिहरुले अवैध रुपमा चलेका क्रसर खोल्नु सहजीकरण गर्ने सम्मको निर्णय गरेतापनि प्रजिअ ढकालले त्यसमा हस्ताक्षर गर्नु भएको छैन । उहाँले सर्वोच्च अदालतको आदेशलाई पालना गरेरै अवैध क्रसर कुनै पनि हालतमा सञ्चालन हुन नदिने बताउनुभयो । 


प्रतिक्रिया