लापरबाहीका कारण धरानमा कोरोना संक्रमण तीव्र रुपमा फैलंदै

आश्विन २१, २०७७ | सुनसरी

धरानमा पछिल्लो बुधबार एकैदिन १ सय ५७ जनामा कोरोना भाइरुसको संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य विज्ञहरुले धरान पछिल्लो समयमा कोरोना भाइरसको चपेटामा परिसकेको बताएका छन् । 

संक्रमितहरुको संख्या बढेसँगै समुदायस्तरमा कोरोना भाइरस फैएिकाले जोखिम न्यूनिकरण गर्न उपमहानगरपालिकालाई चुनौती भएको छ । उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार लकडाउन खोल्नु अघि फाट्टफुट्ट मात्र संक्रमित देखिएकोमा करीब दुई साता यता भने दैनिक दोब्बरले वृद्धि भएको छ । 

शैक्षिक संस्था, व्युटिपार्लर, शैलुन बाहेक सबै खुला भएको र सर्वसाधारणले सामान्य स्वास्थ्य प्रोटोकलको पालना गर्न पनि अटेर गरेकाले दिनदिनै भयावह बन्दै गएको मेहताले बताउनुभयो । सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने, जथाभावी भिडमा जाने, कोरोनालाई सामान्य रुघाखोकी मात्र मान्ने, स्वास्थ्य प्रोटोकल नमान्नेलाई सबैभन्दा बढी कोरोना संक्रमण भएको जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । 

पीसीआर परीक्षणको रिपोर्ट कोरोना पोजेटिभ आएपनि लक्षण देखिएको वा सामान्य अवस्था भए घरमै आइसोलेट भएर बस्नेहरु मध्ये कतिपय अनावश्यक रुपमा घुमफिर गर्न निस्कने, विभेदमा परिने डरले आफू संक्रमित भएको लुकाएर अरुसंग गफिनेहरुले पनि कोरोना संक्रमण फैलाउन भूमिका खेलेका छन् । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्कूल अफ पव्लिक हेल्थ मेडिसिनका एसोसिएट प्रोफेसर डा.विजयकमार खनालले भन्नुभयो, ‘कोरोना भाइरसलाई सामान्य ठान्दा र व्यक्तिगत लापरबाहीले गर्दा समुदाय स्तरमा फैलिएको हो । यदि कडा लक्षण सहितको संक्रमितको संख्या बढेमा हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन र झन भयावह हुन सक्छ । त्यसैले संक्रमणबाट बच्न आफै सचेत हुनुको विकल्प छैन ।’

प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्य प्राविधिक, प्रशासनिक क्षेत्रका कर्मचारीहरु मध्ये हालसम्म सय जना संक्रमित भइसेका छन् । यसैगरी उपमहानगरपालिकामा कार्यरत कर्मचारी मध्ये २० जनामा र धरान खानेपानी व्यबस्थापन बोर्डमा कार्यरत १० जनामा कोरोना संक्रमण भइसकेको छ ।


प्रतिक्रिया