दुप्चेश्वर गाउँपालिकाको कार्यालय एक साताका लागि बन्द

आश्विन २४, २०७७ | नुवाकोट

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालय एक साताका लागि बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय एक साताका लागि बन्द गरिएको छ । 

शनिबार पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आफू होम आइसोलेसनमा बसेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले बताउनुभयो । उपाध्यक्ष अन्जु आचार्य र एक जना कार्यालयका सहयोगी सहित १० जनामा शनिबार संक्रमण देखिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । 

त्यसैगरी सदरमुकाम विदुर नगरपालिका–२ को नुवाकोट दरबार क्षेत्र र बट्टारको दम्की क्षेत्र निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमित देखिएकाले अर्को आदेश नभएसम्म औषधि पसल बाहेकका लागि सुरक्षा मापदण्ड अपनाएर बिहान ६ देखि ८ बजे र बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र पसल खुला गर्न पाउने व्यवस्था मिलाएको वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताउनुभयो । 

शनिबार मात्र नुवाकोटमा २४ जना संक्रमित देखिएको छ । विदुर नगरपालिका र दुप्चेश्वर गाउँपालिकामा १०/१० जना, ककनीमा ३ जना र तारकेश्वर गाउँपालिकामा १ जना देखिका छन् । नुवाकोटमा अहिलेसम्म १ सय ८८ जना संक्रमित देखिएका छन् । त्रिशूली अस्पतालको आइसोलेसनमा २० जना, खरानीटार अस्पतालमा १ जना उपचाररत छन् । 


प्रतिक्रिया