अस्पतालले भर्ना नलिएपछि आइसोलेशनमा बसेका संक्रमितको मृत्यु

कार्तिक ८, २०७७ | सुनसरी

पूर्वका अस्पतालहरुले उपचारका लागि भर्ना लिन नमानेपछि फर्किएर आइसोलेशनमा बसेका सुनसरीका एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालले भर्ना नलिएपछि आइसोलेशनमा बसेका सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ३६ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । 

दुई दिन अघि ज्वरो खोकी र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । तर, कोशीले भर्ना लिन नमानेपछि नोवल मेडिकल कलेजमा लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनलाई अस्पतालले भर्ना नलई फिर्ता पठाइदिएको चतरास्थित आइसोलेसन सेन्टरका इन्चार्ज प्रमोद यादवले बताउनुभयो । 

उहाँका अनुसार नोवलले आइसीयू र भेन्टिलेटर खाली नभएको भन्दै भर्ना नलिएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो । तर, प्रतिष्ठानमा पनि आइसीयू र भेन्टिलेटर अभाव भएको भन्दै उनलाई फर्काएर चतरास्थित आइसोलेसन सेन्टरमा राखिएको थियो ।

‘उनलाई राति ११ बजे आइसोलेशनमा पुर्‍याएको थियो, उहाँले भन्नुभयो, ‘निमोनिया पनि भएकाले सिलिण्डरको अक्सिजनले मात्र भएन । थप उपचार हुन नसकेपछि आइसोलेसनमै शनिबार बिहान १० बजेर ३० मिनेटमा उनको मृत्यु भयो ।’

कृष्णदास महाराज सिद्धबाबाले बनाएको १ सय २८ कोठे भवनलाई प्रदेश एक सरकारले आइसोलेसन सेन्टर बनाएको छ । त्यहाँ हाल २४ जना राखिएका छन् । ती मध्ये एक जनालाई सिलिण्डर मार्फत अक्सिजन दिएर राखिएको छ । 

यादवले भन्नुभयो, ‘उनलाई पनि आइसीयूको जरुरी देखिएको छ । वीपी प्रतिष्ठान अस्पताल जानुपर्छ भन्यो भने त्यहीबाट फर्काएर आएकाले नजाने बरु यही मर्छु भनेर बसेका छन् ।’


प्रतिक्रिया