विराटनगरका संघ संस्थाद्वारा छठ पर्व मनाउन पाउनु पर्ने माग

कार्तिक २३, २०७७ | विराटनगर

विराटनगरमा रहेका विभिन्न संघ संस्थाले छठ पर्व मनाउन पाउनु पर्ने माग गरेका छन् । विराटनगरसहित मोरङ जिल्लामा कोरोना संक्रमणदर उच्च रहेपछि स्थानीय प्रशासनले नदी, तलाउमा छठ पर्व मनाउन प्रतिवन्ध लगाएका थिए । विराटनगरमा आज पत्रकार सम्मेलन गरी उनीहरुले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर सुरक्षित तरिकाले नदी, तलाउमै गएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाउन दिन स्थानीय प्रशासनसँग माग गरे ।

 नदी, पोखरी र तलाउमा छठ पर्व मनाउने कार्यमा जबरजस्ती रोक लगाइएमा सांस्कृतिक अतिक्रमण हुने र त्यसको बिरोधमा उत्रिन बाध्य हुने स्थिति निर्माण नगरिदिन छठ पर्व समारोह समितिले स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । विगतमा झै यो वर्ष टेण्ट लगाएर घाट सजाउने, सांस्कृतिक कार्यक्रम गर्ने र रातभरि घाटमा जागराम बस्ने अवस्था नभएको बारे आफुहरु जानकार रहेको बताउदै हिन्दु परिषद मोरङका अध्यक्ष कैलास मण्डलले नदीमा छठ पर्व मनाउन जाने प्रत्येक व्यक्तिले मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, एक परिवारको घाटमा अर्को परिवारका सदस्य नजाने मापदण्ड तयार भएको जानकारी दिनुभयो ।

मोरङका पमुख जिल्ला अधिकारी कोषहरी निरौलाले विराटनगर महानगरलगायत जिल्लाभरि कोरोना संक्रमण दैनिक बढिरहेकाले सुरक्षित तरिकाले सामूहिक भेला र भिडभाड नगरी घर घरमै पर्व मनाउन आग्रह गरेको बताउनुभयो ।


प्रतिक्रिया