कोरोना संक्रमणबाट धरानमा एक वृद्धको मृत्यु

कार्तिक २६, २०७७ | सुनसरी

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका सुनसरीका एक वृद्धको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१४ विजयपुरका ७४ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको हो । 

कात्तिक २१ गते स्वाब परीक्षण गराएको उनको २४ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी कक्षमा भर्ना गरिएपनि स्वास्थ्यमा सुधार नभएपछि परिवारले घरै फर्काएका थिए । ती वृद्धमा कुनै दीर्घ रोग नभएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताउनुभयो ।

यसैबीच प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिराहाको लाहान–२ का ७० वर्षीय वृद्धको मृत्यु भएको छ । ती वृद्धको उपचारको क्रममा मंगलबार दिउँसो २ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार मधुमेहका दीर्घ रोगी ती वृद्धलाई कात्तिक १६ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । सोही दिन उनको स्वाबको पीसीआर विधिबाट परीक्षण गर्दा १७ गते रिपोर्ट पोजेटिभ आएको थियो । 


प्रतिक्रिया