छेला औद्योगिक क्षेत्र निर्माण कार्य सुरु

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन १०, २०७७

कञ्चनपुरको बेदकोटमा छेला औद्योगिक क्षेत्र निर्माण कार्य सुरु भएको छ । बेदकोट नगरपालिका २ र ३ मा बन्ने औद्योगिक क्षेत्रको प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो । सो क्षेत्रका वासिन्दाले औद्योगिक क्षेत्र स्थापनाका लागि लामो समयदेखि माग गर्दै आएका थिए । 

बेदकोट नगरपालिकाको जनचेतना सामुदायिक वन र बेदकोट सामुदायिक वनको २ सय ४० हेक्टर क्षेत्रफल जमिनमा औद्योगिक क्षेत्र निर्माण हुनेछ । औद्योगिक क्षेत्रका लागि साढे ६ सय हेक्टर जमिन आवश्यक भएपनि तत्काल थोरै जमिनबाट सुरु गर्ने गरी काम भइरहेको बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले बताउनुभयो । उहाँका अनुसार औद्योगिक क्षेत्रमा साना, मझौला र ठुला गरि १ सय २४ उद्योगहरु स्थापना हुनेछन् । 

छेला औद्योगिक क्षेत्रका लागि २०५१ सालदेखि अध्ययन सुरु भएको हो । त्यसयता तत्कालिन दैजी गाविस र उद्योग बाणिज्य संघ लगायतले यसको माग गर्दै आएका थिए । पछिल्लो पटक नगरपालिकाले समेत यस विषयमा पहल गर्दै आएको हो । 


प्रतिक्रिया