सर्वोच्च अदालतको फैसला पश्चात् प्रदेशसभा

फाइल तस्बिर 

फाल्गुन ११, २०७७ | मकवानपुर

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको फैसलापछि बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ । सत्तारुढ नेकपाको दाहाल–नेपाल निकट सांसदहरुले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावका कारण प्रदेश सभा बैठक पटक/पटक सूचना टाँसेर स्थगित गरिँदै आएको छ । 

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको फैसला पश्चात् मात्र बैठक राख्ने गरी तयारी गरिरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

सभामुख सानुकुमार श्रेष्ठले सत्तारुढ दल, अविश्वासको प्रस्ताव दर्ता गराउने समूह र प्रमुख प्रतिपक्षी दलसँग आन्तरिक छलफल गर्दै प्रदेशसभाको आगामी बैठक सर्वोच्चको फैसला पश्चात् मात्र राख्ने जानकारी गराएका छन् ।

यसअघि माघ १९ गते र फागुन ५ गतेका लागि बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरेपछि अविश्वासको प्रस्तावमाथिको छलफल अनिश्चित बनिरहेको छ । 

प्रदेशसभा सचिवालय स्रोतका अनुसार ओली समूहका मुख्यमन्त्री पौडेल, दाहाल–नेपाल समूहका संसदीय दलका नेता अष्टलक्ष्मी शाक्य र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सर्वोच्च अदालतको फैसला नआउँदा बैठक नराख्न सहमत भएपछि सभामुख श्रेष्ठे सोही अनुसार अगाडि बढ्ने संकेत गरेका छन् । 

मुख्यमन्त्री पौडेलविरुद्ध गत पुस १० गते प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो भने माघ ९ गते प्रदेश सभामा टेबल भएको थियो । 


प्रतिक्रिया