हेटौंडा–कुलेखानी–फर्पिङ सडक बुधबारदेखि सञ्चालन हुँदै

चैत्र १०, २०७७ | हेटौंडा

मकवानपुरको हेटौंडाबाट राजधानी प्रवेश गर्ने वैकल्पिक मार्ग बुधबारदेखि सञ्चालनमा आउने भएको छ । हेटौंडा–भीमफेदी–कुलेखानी, फाखेल,सिस्नेरी–दक्षिणकाली फर्पिङ सडकको भीमफेदी–कुलेखानी खण्डमा ढलान र कालोपत्रे गर्नका लागि माघ १० गतेदेखि चैत १० गतेसम्म सवारी साधन सञ्चालनमा रोग लगाएको थियो । 

सो सडकको खण्डको भीमफेदीदेखि देउरालीसम्मको विभिन्न भागमा ढलान र देउरालीदेखि कुलेखानीसम्म कालोपत्रे गर्न २ महिना सवारी साधन आवतजावतमा बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले रोक लगाएको थियो । 

लक्ष्य अनुसारको मर्मतको काम सकिएकाले बुधबारदेखि नियमित रुपमा यातायात सेवा सञ्चालनमा आउने निर्देशनालय निर्देशक डा. सहदेव भण्डारीले बताउनुभयो । कालोपत्रेका काम भने अझै सकिएको छैन । सडक फराकिलो बनाउने र ढलान गर्ने काम सकिएको छ ।

सो सडकखण्ड अत्यन्त जोखिमयुक्त भएकाले नालासहितको फराकिलो बनाउने कार्य प्रदेश सरकारले गरेको छ । निर्देशनालयका अनुसार १८ करोडको लागतमा भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको ८ किलोमिटर सडक र १६ करोड लागतमा देउरालीदेखि कुलेखानीको हेभी चौरसम्मको साढे ७ किलोमिटर सडक स्तरोन्नतिको काम गरिएको छ । 

बागमती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले चालू आर्थिक वर्षमा सो सडक मर्मत तथा स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको थियो । यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा. भण्डारीले भीमफेदीदेखि कुलेखानीको हेभीचौरसम्म सडक खण्डलाई फराकिलो बनाउनुको साथै ढल र पर्खालको निर्माण गरिएको बताउनुभयो । 

भीमफेदीदेखि कुलेखानीको हेभी चौरसम्म साढे १५ किलोमिटर सडकमा अहिले कालोपत्र गर्ने कार्य भईरहेको छ । आगामी जेठ मसान्तभित्रै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ निर्माण कम्पनीलाई निर्देशन समेत दिइएको छ ।

विगत २ महिना वैकल्पिक मार्ग भएर आवतजावत गर्ने सवारी साधनहरु त्रिभुवन राजपथ, चितवन—मुग्लिन नौबिसे सडक र कान्तिलोकपथ प्रयोग गरेका थिए । २ महिनासम्म वैकल्पिक राजमार्ग बन्द हुँदा त्यस क्षेत्रका होटल व्यवसायी र फलफूल एवं तरकारी उत्पादक कृषकहरु मारमा परेका थिए । सो छोटो मार्ग भएर हेटौंडा–काठमाडौं दैनिक ८ सय भन्दा बढी हलुका सवारी साधनहरु आवतजावत गर्नें गरेका छन् । 


प्रतिक्रिया