मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

चैत्र २३, २०७७ | विराटनगर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा टेबल भएको अविश्वासको प्रस्ताव माओवादी केन्द्रले फिर्ता लिएको छ । प्रस्तावक माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङबोले प्रदेश सभाको आजको बैठकबाट अविश्वासको प्रस्ताव फिर्ता लिनुभएको हो । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माओवादी केन्द्रका १४ जना सांसदले आजै प्रदेश सभा सचिवालयबाट लिखित रुपमा हस्ताक्षर फिर्ता लिएका थिए ।

 हस्ताक्षर फिर्ता लिएपछि आङ्बोले सदनमा अविश्वासको प्रस्ताव फिर्ता लिनुभएको हो । तत्कालीन नेकपाका ३७ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभामा पेस भएको अविश्वास प्रस्ताव सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र व्यूँताएपछि एमालेका २२ र माओवादीका १ गरी २३ जनाले हस्ताक्षर फिर्ता लिएपछि माओवादी केन्द्र पनि हस्ताक्षर फिर्ता लिन बाध्य भएको हो । आङ्बोले सरकार र सभामुखको मिलेमतोमा प्रदेश सभामा अविश्वास प्रस्तावको छलफल अघि बढ्न नसकेको उल्लेख गर्नुभयो ।

यसैबीच, माओवादी केन्द्रले प्रदेश एकको संसदीय दलको नेता छाडेर एमालेमा प्रवेश गरेका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई सांसदबाट हटाएको छ । संसदीय दलको नेता आङ्बोले आङबुहाङलाई सासदबाट हटाएको जानकारी आजै प्रवेश सभा सचिवालयलाई गराउने जानकारी दिनुभयो । गत चैत्र १३ गते मन्त्री भएका आङबुहाङ ६ महिनासम्म मन्त्री बन्नु हुनेछ । 


प्रतिक्रिया