गण्डकी प्रदेशमा दुई वटा मन्त्रालयको जिम्मेवारी बाँडफाँड

चैत्र २६, २०७७ | पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएसँगै रिक्त रहेका दुई वटा मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्नु भएको छ । 

मुख्यमन्त्री गुरुङले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफू मातहत राख्नु भएको छ । यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दिनुभएको छ । माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै सो पार्टीको तर्फबाट कानूनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले मुख्यमन्त्री गुरुङलाई राजीनामा बुझाएका थिए । 

माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार मन्त्री बस्नेतले तत्काल मन्त्री थप गर्ने स्थिति नरहेको बताउनुभयो । माओवादीको समर्थन भएपनि सत्ता समीकरणका लागि प्रदेश सरकारले राष्ट्रिय जनमोर्चासँग छलफल गरिरहेको छ । सरकारमा जाने विषयमा कांग्रेसले पनि कुनै निर्णय नगरेको कांग्रेस संसदीय दलका उपनेता मेखलाल श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया