सर्वसाधारणले घरैमा अक्सिजन सिलिण्डर लैजान थाले

वैशाख १०, २०७८ | सुनसरी

कोरोना महामारीको दोश्रो लहर चलिरहेको बेला व्यक्तिगत रुपमा अक्सिजन सिलिण्डर जोहो गर्नेहरुका संख्या पुर्वमा बढेको छ । कोरोना भाइरसले संक्रमितको स्वासप्रश्वास प्रक्रियामा हानी पुर्‍याउने भएकाले कुनै पनि बेला आइपर्न सक्ने भन्दै सर्वसाधारणहरुले अक्सिजन सिलिण्डर जोहो गर्न थालेका हुन् । पछिल्लो तीन साता यता अक्सिजन प्लाण्ट र अक्सिजन सिलिण्डर विक्रेताबाट करिव १५ प्रतिशत सिलिण्डर खपत भएको छ । तर यसरी सिलिण्डर जोहो गर्नु संक्रमित विरामीका लागि दीर्घकालिन फाइदा भने नभएको अक्सिजन प्लाण्ट संचालकहरुले नै बताएका छन् ।

मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुढाको हिमाल अक्सिजन प्लाण्टका प्रवन्धक केदार श्रेष्ठले भने, ‘छिमेकी मुलुक भारतमा कोरोना महामारीका बीच अक्सिजनका अभाव भएको समाचार टेलिभिजन र पत्रपत्रिकामा देखेकाले त्यस्तै आइपर्ला कि भनेर अक्सिजन सिलिण्डर जोहो गरेका होलान् । तर त्यसरी जोहो गरेको अक्सिजन सिलिण्डरले कोरोना संक्रमितलाई २४ घण्टा मात्र थेग्छ । त्यसपछि फेरि अक्सिजन भर्नु पर्छ ।’

उनका अनुसार अक्सिजन सिलिण्डर अहिले नै जोहो गर्दा सिलिण्डरको अभाव भएर अनाबश्यक समस्या आइपर्न सक्छ । वास्तविक संक्रमितले अक्सिजन सिलिण्डर नपाउँदा अकालमा ज्यान जान सक्ने श्रेष्ठले बताए ।

पुर्वमा मोरङको बुढीगंगामा हिमाल अक्सिजन प्लाण्ट, सुनसरीको इटहरी उपमहानगरस्थित खनार दुर्गा अक्सिजन प्लाण्ट, दुहवी नगरपालिकाको सोनापुरस्थित विनायक अक्सिजन प्लाण्ट, सोही नगरपालिकाको खनामा पाथिभरा अक्सिजन प्लाण्ट गरी चार वटा अक्सिजन प्लाण्ट रहेका छन् । झापा, मोरङ र सुनसरीमा खुलेका ठूला अस्पताल र अक्सिजन चाहिने उद्योगहरुलाई लक्षित गरेर ती प्लाण्टबाट अक्सिजन उत्पादन हुदै आएका छन् । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै अक्सिजन प्लाण्ट छ । प्रतिष्ठानले स्थापना गरेको प्लाण्टबाट १६ सय लिटर प्रतिघण्टा अक्सिजन उत्पादन हुने गरेपनि हाल उत्पादन क्षमताको ३० प्रतिशतमात्र उत्पादन गर्दै आएको छ ।

कोरोना महामारीको दोश्रो लहर चलिरहेको बेला अक्सिजन सिलिण्डर जोहो गर्नु महामारीको उत्कर्षमा अक्सिजन सिलिण्डर नै नपाइला कि भन्ने चिन्ता लिएको संकेत भएको श्रेष्ठले बताउनुभयो । विक्रि कक्षबाट दैनिक पाचसात जनाले सिलिण्डर खरिद गर्ने गरेका छन् । बजारमा १२ किलो अर्थात करिव १६ लिटरको ठूलो सिलिण्डरको मुल्य २० हजार रुपैयाँ पर्छ । सिलिण्डरमा अक्सिजन भर्न भने खासै खर्च हुँदैन । ठूलो सिलिण्डरमा एक पटक भरेको सरदर ५ सय ५० रुपैयाँ र सानो सिलिण्डरमा भरेको २ सय ५० रुपैयाँ मात्र लाग्छ ।


प्रतिक्रिया