नेपालको राजनीति निरङकुशतातिर धेकेलियो : अमिक शेरचन

वैशाख २१, २०७८ | कास्की

गण्डकी प्रदेशका निवर्तमान प्रमुख अमिक शेरचनले नेपालको राजनीति निरङकुशता तिर धकेलिएको बताउनु भएको छ । मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै निवर्तमान प्रदेश प्रमुख शेरचनले मुलुकको राजनीति निरङकुशता तिर धकेलिएको बताउनु भएको हो । 

सोमबार मात्रै पदमुक्त भएका शेरचनले आफूलाई कुनै पनि जानकारी बिना हटाइएको भन्दै मिडिया मार्फत आफू पदमुक्त भएको जानकारी पाएको सुनाउनुभयो । ‘यदी पहिले नै भनेको भए मैले राजीनामा दिन्थेँ,’ उहाँले भन्नुभयो, ‘म नमान्दा नमान्दै थामिएको पद थियो । रहरले भन्दा पनि बाध्यताले आएको थिएँ । संसद विघटन हुने बेला नै राजीनाम दिने तयारी गरे । प्रचण्डले रोकेका कारण दिएको थिइन । अहिले आफै हटाइयो ।’ 

निवर्तमान प्रदेश प्रमुख शेरचनले राजनीतिमा ६२ वर्ष बिताएको भन्दै आफूलाई कुनै पनि पदको लोभ नभएको र आगामी दिनमा खुला राजनीतिमा सकृय रहने बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले पदमुक्त बारे धारणा राख्दै आफूले पदीय मान्यता विपरीत कार्य नगरेको बताउनुभयो । शेरचनले आफूले सुरुमा पद अस्वीकार गरेको भएपनि पार्टीको निर्णय मानेर प्रदेश प्रमुख भएर आएको बताउनुभयो ।

‘पहिला ओलीजीले प्रस्ताव गर्दा अस्वीकार गरे,’ उहाँले भन्नुभयो, ‘प्रचण्डजीले पनि भन्नुभयो । तर, पछि पार्टीले निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको रुपमा पद स्वीकार गरेको हुँ ।’ अधिकारविहीन खुला जेलबाट मुक्त हुन पाउँदा खुशी रहेको भन्दै उहाँले १८ महिना २ दिनको कार्यकालमा असंवैधानिक कुनै पनि निर्णय नगरेको बताउनुभयो । 

विशेष अधिवेशन आह्वान गरेपछि स्थगित भएको भन्दै उहाँले सर्वदलीय बैठक बोलाएर छलफल चलाउने तयारी गर्दै गर्दा आफू छाडेर जानुपरेको सुनाउनुभयो । शेरचनलाई राष्ट्रपति भण्डारीले सोमबार साँझ पदमुक्त गर्नु भएको थियो । गण्डकी प्रदेश प्रमुखमा नेकपा एमालेकी नेतृ सीता पौडेल नियुक्त हुनु भएको छ । 


प्रतिक्रिया