गण्डकीमा विपक्षी दलले ३१ सांसदको हस्ताक्षर बुझाउने

वैशाख २६, २०७८ | कास्की

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पदबाट राजीनामा दिएपछि विपक्षी दलले प्रदेश प्रमुख समक्ष बहुमतको हस्ताक्षर बुझाउने भएका छन् । मुख्यमन्त्रीको राजीनामासंगै विपक्षी दलले ३ दिनभित्र बहुमतको हस्ताक्षर बुझाउने नेपाली कांग्रेसका सांसद विष्णुप्रसाद लामिछानेले बताउनुभयो । 

उहाँका अनुसार विपक्षी दल अब कसरी जाने भन्ने विषयमा छलफलमा जुटेको छ । उहाँले भन्नुभयो, ‘हामी ३१ जनाको हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुखलाई बुझाउछौं ।’ गण्डकीमा बहुमतको लागि ३१ जनाको हस्ताक्षर चाहिन्छ । 

अविश्वासको प्रस्तावमाथि मतदान हुने दिनको अघिल्लो दिन आइतबार नै मुख्यमन्त्रीले राजीनामा दिनु भएको छ । अविश्वासको प्रस्ताव पास हुने सम्भावना देखेपछि उहाँको राजीनामा आएको स्रोतले जनाएको छ । 

स्रोतका अनुसार आइतबार बिहानसम्म मुख्यमन्त्रीले राजीनामा दिने कुरा थिएन । गण्डकीमा नेकपा एमालेका २७ सांसद छन् । कांग्रेस, माओवादी, जसपा र राजमो गरी बहुमत पुग्नेछ ।


प्रतिक्रिया