वीपी प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको आन्द्राको शल्यक्रिया

वैशाख २७, २०७८ | सुनसरी

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा सोमबार एक कोरोना भाइरस संक्रमित पुरुषको आन्द्राको जटिल शल्यक्रिया भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार सिराहाको कल्याणपुर निवासी ४० वर्षीय पुरुषको सानो आन्द्राको आकस्मिक शल्यक्रिया गरिएको थियो । 

संक्रमित पुरुषको पेट फुलेर दुख्नुका साथै ज्वरो, खोकी, वान्ता, श्वासप्रश्वासको समस्या देखिएपछि सिराहाको कर्जनास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा भर्ना भएका थिए । सो अस्पतालमा उनको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि वीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । 

प्रतिष्ठानको कोभिड अस्पतालमा थप जाँच गर्दा उनको सानो आन्द्रामा छिद्र देखा परेको र पेटमा संक्रमण फैलिएको पत्ता लागेको थियो । उनको तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि जेनेरल सर्जरी विभागका डा. निर्मल प्रसाद शाहको नेतृत्वमा आकस्मिक शल्यक्रिया गर्ने निर्णय अनुसार सफलतापूर्वक शल्यक्रिया गरिएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिनुभयो । 

शल्यक्रियामा सर्जरी विभागका डा. विजय श्रेष्ठ, डा. संदिप खनाल, डा. सुनिल जैसवाल, डा. राजन सुवेदी तथा एनेस्थेसियाका डा. विशाल देव, डा. राजेश प्रजापति सहभागी थिए । यस्तै, नर्स सुरभी राई, मनिला मगर, हेल्पर सरोज कार्की पनि शल्यक्रियामा सहभागी थिए । 

कोरोना महामारीको दोस्रो लहर सुरु भएयता कोभिड अस्पतालमा यो पहिलो शल्यक्रिया भएको हो । यसअघि कोरोनाको पहिलो लहरको बेला पनि ५ जना संक्रमितको शल्यक्रिया भएको थियो । 

डा. मनोज शाहको नेतृत्वमा दुई वटा, डा. दिप्ती दासको नेतृत्वमा दुई वटा तथा डा. दीपा शाहको नेतृत्वमा एउटा शल्यक्रिया भएको थियो । यस्तै, डा. सूर्य प्रसाद रिमालको नेतृत्वमा दुई जना कोरोना संक्रमित महिलाको नर्मल डेलिभरी गरिएको प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया