कपिलवस्तुमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप

जेष्ठ २४, २०७८ | कपिलवस्तु

कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि कपिवस्तुमा लागू गरिएको निषेधाज्ञा एक साता थप गरिएको छ । जेठ २५ गतेदेखि ३१ गतेसम्म ७ दिन निषेधाज्ञा थप गरिएको हो । 

कोरोना संक्रमणलाई न्यूनिकरण गर्न चौंथो पटक निषेधाज्ञा थपिएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले निषेधाज्ञा बढाउने आदेश जारी गर्नु भएको हो । 

यसअघि जेठ १७ देखि २४ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाईएको थियो । निषेधाज्ञाका समयमा अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ९ देखि दिउँसो १ बजेसम्म पसल खुला रहने प्रशासनले जनाएको छ । 

किनमेलका लागि छुट दिएको समयमा सवारी साधन चलाईएको पाईएकाले थप कडाई गर्ने निर्णय गरिएको प्रजिअ पाण्डेले बताउनुभयो । ‘जिल्लामा कोरोना भाईरस संक्रमणका विरामी कम हुँदै गएका छन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञाको आदेश थप्नु परेको हो ।’ जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय ८६ रहेको छ । 


प्रतिक्रिया