घरमा पानी पस्दा सप्तरीका ५ सय घर डुबानमा

असार १९, २०७८ | राजविराज

निरन्तरको वर्षाका कारण घरमा पानी पस्दा सप्तरीको विभिन्न पालिकामा गरि ६ सय भन्दा बढी घरमा पानी पसेको छ । हनुमाननगर कंकालिनी नगरपालिकामा सप्तकोसी नदीको सिपेजको पानी र वर्षाको पानीको निकास नहुँदा ३ सय भन्दा बढी घर डुबानमा परेका छन् । सो नगरपालिकाको वडा नम्बर ९, १०, ११ र १२ नम्बर वडाका करिब ३ सय डुवानमा परेको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिनुभयो ।

निरन्तरकै वर्षाका कारण सप्तकोसी नदीमा बहाव उच्च भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आज बिहान ९ बजे कोसी ब्यारेज भएर २ लाख २२ हजार ७ सय ७५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भईरहेको छ । ब्यारेजका २९ वटा ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव उच्च हुँदै गएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढा बस्ती जोखिममा परेको छ । गोबरगाढा सप्तकोसी नदीको बीचमा रहेको बस्ती हो ।

गोबरगाढाका वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार बस्तीमा अहिले महिला, बालबालिका समेत गरि ५ सय जना छन् । कोसीमा पानी बढेसंगै आफुहरु असुरक्षित भएको वडाध्यक्ष यादवले बताउनुभयो । यद्यपि त्यहाँका स्थानिय अझै पनि घर छोड्न मानेका छैनन् । हरेक वर्ष वर्षात्मा गोबरगाढामा सप्तकोसीको पानी पस्ने गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिकाले कोसीको मध्य भागमा रहेको सो वस्ती स्थानान्तरण गर्ने योजना ल्याएपनि स्थानियले अस्वीकार गर्दै आएका छन् ।

अहिले कोसीमा पानी बढेपछि महिला र बालबालिकालाई सुरक्षित रुपमा हनुमाननगर ल्याउन प्रयास गरेपनि स्थानियले नमानेको नगरप्रमुख शैलेशकुमार साहले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गोबरगाढा अहिले सम्म सुरक्षित रहेको र खतराको अवस्था आए स्थानियलाई उद्धार गर्ने बताउनुभयो ।

यसैबीच त्रियुगा, अमहा, टेंग्रा,गंगाजली र सतरापतरा नदीको पानी बस्तीमा पस्दा सप्तरीको सप्तकोसी नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ का करिब २ सय घर डुवानमा परेको नगरप्रमुख उत्तम गौतमले जानकारी दिनुभयो । त्रियुगा र टेंग्रा नदीमा कटान समेत लागेको छ । नगरप्रमुख गौतमका अनुसार त्रियुगा नदीले वडा नम्बर २ सिद्धिपुर र वडा नम्बर ३ को सखुवानीमा तटबन्ध कटान गरिरहेको छ ।

यस्तै जिल्लाको सुदुरपश्चिम बलान बिहुल गाउपालिकामा बलान नदीले कटान गरिरहेको छ । गाउँपालिका अध्यक्ष दयानन्द गोइतका अनुसार बलान नदीले बडा नम्बर २ र ४ मा कटान गरिरहेको छ । स्थानियस्तरमा उपलब्ध साधनस्रोतले नियन्त्रणको कार्य गरिईरहेको उहाँले बताउनुभयो । यता डाकनेश्वरी नगरपालिका ६ कटैयामा खडग खोलाले तटबन्ध कटान सुरु गरेको नगरप्रमुख शिवनारायण साहले जानकारी दिनुभयो ।

वर्षा निरन्तर जारी रहेकाले जनजिवन समेत कष्टकर हुँदै गएको छ । जिल्लाका अधिकांस ग्रामिण बाटोहरु हिलाम्यै भएको छ । वस्तीबाट निस्कन समेत समस्या हुने गरि बाटो हिलाम्यै र क्षतिग्रस्त भएको छ । 


प्रतिक्रिया