लुम्बिनी प्रदेश : नयाँ सरकार गठनका लागि आहवान गर्न प्रदेश प्रमुखसँग माग

श्रावण १८, २०७८ | रुपन्देही

लुम्बिनी प्रदेशसभाका विपक्षी दलले संवैधानिक प्रावधान अनुसार बहुमतको सरकार गठनका लागि आहवान गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनलाई निवेदन बुझाउंदै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनको आह्वान गर्न माग गरेका हुन् । प्रदेश प्रमुख शेरचनले संवैधानिक र कानूनी परामर्शपछि दलहरुको मागबारे निर्णय गर्ने बताउनुभएको छ । 

 संविधानको धारा १ सय ६८ (१) अनुसार एकल बहुमतको मुख्यमन्त्री नियुक्त भएका शंकर पोखरेलले बहुमत गुमाएको उनीहरुको दावी छ । प्रदेशसभामा हाल कायम ८० सांसदमध्ये नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाको हस्ताक्षर छ । गत वैशाख ६ गते विपक्षी दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

 मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि नै प्रदेशसभाको अधिवेशन अन्त्य गदै राजिनामा गरी एकल बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष निवेदन दिनुभयो । त्यसपछि पोखरेललाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको थियो । प्रदेश सभामा अहिले सत्तारुढ नेकपा एमालेसँग ३८ सांसद मात्र छन् । 


प्रतिक्रिया