एमालेद्वारा लुम्बिनीका २ सांसदलाई पदमुक्त गर्न पत्राचार

सूर्य चिन्हबाट चुनाब लडेका २ सांसदलाई पदमुक्त गर्न मंगलबार पत्र बुझाउँदै एमाले सांसदहरु ।  

भाद्र १, २०७८ | बुटवल

नेकपा एमालेले लुम्बिनी प्रदेशमा गठबन्दन सरकारमा सहभागी भएका २ जना सांसदलाई पदमुक्त गर्न पत्राचार गरेको छ । कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री अजय शाही र सांसद विमला कुमारी खत्री ओलीलाई पदमुक्त गर्न मंगलबार प्रदेश सभामा पत्र बुझाएको हो ।

एमालेको सूर्य चिन्ह लिएर निर्वाचित शाही र ओलीले पार्टीको विधान, संसदीय दलको विधान, नियम र पार्टीको निर्देशन विपरीत गतिविधि गरेकाले पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरिएको एमालेका मुख्य सचेत भूमिश्वर ढकालले बताउनुभयो । 

एमाले प्रमुख सचेतक सहितका सांसदहरुले आज सभामुख पूर्णबहादुर घर्तीलाई कारबाहीको पत्र बुझाएका छन् । पार्टीको नीति निर्देशन नमानेकाले संसदीय दल लुम्बिनीको सिफारिसमा एमाले केन्द्रीय कमिटीले पार्टी सदस्यबाट निलम्बन गरेपछि पदमुक्त गर्न पत्र बुझाएको सचेतक ढकालले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘पार्टीको ह्वीप पविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल गर्न मतदान गरेको र संसदीय दलको निर्देशन विपरीत नवगठित मन्त्रिपरिषदमा सहभागी हुने गरेकोले पदमुक्त गर्न पत्राचार गरेका हौं ।’ 

अजय शाही प्रदेशसभा निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ ख बाट सूर्य चिन्हबाट निर्वाचित भएका थिए । विमला कुमारी खत्री ओली एमाले नेता उत्तर कुमार ओलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन् । 

ओलीले नेकपा पार्टी हुँदा चुनाव जितेको भन्दै कहिले नेकपा केन्द्र त कहिले एमाले रोज्दै विवादमा परेकी छन् । शाही आफू स्वतन्त्र उमेदवार भएकाले पाटीको ह्वीप नलाग्ने बताउँदै आएका छन् ।


प्रतिक्रिया