गोरखामा जिप दुर्घटना हुँदा १४ घाइते, ३ को अवस्था गम्भीर

आश्विन २६, २०७८ | गोरखा

गोरखाको गण्डकी गाउँपालिका–८ मलेओडारमा बा २० च ४४०० नम्बरको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको अस्पताललाई उद्दृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो । 

घाइते मध्ये सात जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर रेफर गरिएको छ । मंगलबार बेनिघाटबाट माझीटार जाँदै गरेको जिप अनियन्त्रित भइ सडकबाट करीब ५० मिटर भिरमा खसेको डीएसपी प्रकाश दाहालले बताउनुभयो । 

घाइते मध्ये धादिङको ज्यालामुखी गाउँपालिका–१ माझिटारकी २० वर्षीय संगीता माझी, २१ वर्षीय रमण कुमाल र गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोकका ३६ वर्षीय सन्जु पुलामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

धादिङको ज्वालामुखी गाउँपालिका–१ माझीटार बस्ने ४८ वर्षीय सुब्बा माझी, २८ वर्षीय बलबहादुर कुमाल, २१ वर्षीय रमण कुमाल, गण्डकी गाउँपालिका–६ भुम्लिचोकका ५० वर्षीय होम बहादुर कुमाल र ५० वर्षीय बृन्दा कुमाललाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको डीएसपी दाहालले बताउनुभयो । 

चालक सहित सामान्य अवस्थाका थप सात जना घाइतेको भने मलेखुस्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सवारी चालक २२ वर्षीय मनोज माझीको अवस्था सामान्य रहेको र प्रहरी निगरानीमा उपचार भइरहेको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया