जलवायु परिवर्तनसम्बन्धी महत्वपूर्ण प्रतिवेदन परिमार्जनको प्रयासमा धनी देशहरु

कार्तिक ४, २०७८ | काठमाडौं

विश्वका धनी देशहरुले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि महत्वपूर्ण वैज्ञानिक अनुसन्धान प्रतिवेदन परिमार्जनको प्रयास गरिरहेको खुलासा भएको छ । बीबीसीका अनुसार आफूलाई प्राप्त एक गोप्य दस्तावेजमा धनी र सम्पन्न देशहरुले खनिज इन्धन विस्थापनको गति कम गर्न खोजेको देखिएको हो । 

सो गोप्य कागजातका आधारमा विभिन्न देशका सरकार, कम्पनी तथा अरु सरोकारवाला निकायले केही समयअघि सार्वजनिक भएको जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदनको सुझावलाई खुम्च्याउन आग्रह गरिएको पाइएको छ । साउदी अरेबिया, जापान र अस्ट्रेलियासहितका देशले संयुक्त राष्ट्रसंघसँग जलवायु परिवर्तनको असर न्यूनीकरण तथा तापमान वृद्धि नियन्त्रणका लागि खनिज इन्धनको प्रयोग सीमित गर्नुपर्नेसम्बन्धी वैज्ञानिक प्रतिवेदनको तथ्यगत जानकारीलाई परिमार्जन गर्न आग्रह गरेको ती दस्तावेजले प्रष्ट पारेको छ । 

 जलवायु परिवर्तनलाई सुस्त गर्न र तापमान वृद्धि १दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्नका लागि ‘महत्वाकांक्षी’ योजना र वाचा गर्नुपर्ने बेला राष्ट्रसंघलाई नै दबाब दिइरहेको बीबीसीले जनाएको छ । कोप २६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतमा हुँदै छ ।  


प्रतिक्रिया