पर्सामा २ लाख बढीले लगाए कोरोना विरुद्धको खोप

कार्तिक ७, २०७८ | पर्सा

पर्सामा हालसम्म २ लाख २ हजार १ सय ७७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहका अनुसार, असोज १५ अर्थात दशैँ अघिसम्म जिल्लामा १ लाख ३ हजार ५९ जनाले पूर्ण मात्राको खोप लगाईसकेका छन् । यो जिल्लाको कुल जनसंख्याको २३ दशमलव ८ प्रतिशत हो । 

दशैंको समय तथा त्यसपछि समेत खोप अभियान चलाइएकोमा सो अवधिमा करीब ९९ हजार जनाले कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लगाएका छन् । ‘पछिल्लो तीन साता यता पहिलो चरणका खोप लगाएकाको पूर्ण विवरण आउन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘तर वितरण गरिएको खोप र त्यसको मात्रा समेत मिलाउँदा तीन साता यता ९९ हजार जनाले यो खोपको पहिलो डोज लगाएको हाम्रो अनुमान छ ।’

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख साहका अनुसार पुराना र नयाँ गरी जिल्लाका कुल ३० प्रतिशत जनताको पहुँचमा कोरोना विरुद्धको खोप पुगेको छ । जिल्लामा हालसम्म कोभिसिल्ड, भेरोसिल, जेनसेन, अस्ट्राजेन्का खोप दिइएको उहाँको भनाई छ । 

जिल्लामा चरणबद्ध रुपमा स्वास्थ्यकर्मी, महिला स्वयम्सेविका, सरससफाईकर्मी, कोरोना संक्रमित मृतकको शवको व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, अन्य सुरक्षाकर्मी, सञ्चारकर्मी, कारागारका कैदीबन्दी र त्यसपछि सर्वसाधारणलाई खोप उपलब्ध गराइएको थियो । सर्वसाधारणमा पनि ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई त्यसपछि नाबालक बाहेकका उमेर समूहका नागरिकलाई यो खोप दिईदैछ । 


प्रतिक्रिया