विवादपछि रुपन्देही क्षेत्र नम्बर ३ को मतदान स्थगित

मंसिर ६, २०७८ | भैरहवा

मतदानको विषयलाई लिएर दुई पक्षबीच विवाद बढ्दै गएपछि भैरहवामा जारी नेपाली कांग्रेस रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को मतदान प्रक्रिया स्थगित भएको छ । 

साँझ ५:४५ बाट मतदान प्रक्रिया सुरु भएपछि क्षेत्रीय कमिटीका सभापति पदका उम्मेदवार मातृका प्रसाद यादव सहितको समूहले मतदान ढिलो भएको भन्दै बहिष्कार गरेको थियो । 

साँझबाट मतदान गर्दा राति अबेरसम्म हुने र सुरक्षा हुन नसक्ने भन्दै बहिष्कार गरेको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मतदान बहिष्कार गरेलगत्तै निर्वाचन मण्डलले एक पक्षीय रुपमा मतनदान गराउन उपयुक्त नहुने भन्दै स्थगित गरेको छ । यद्यपि, त्यतिन्जेल ५० वटा मत खसिसकेको थियो । 

पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने मतदान प्रक्रिया अघि बढाउन माग गरिरहेको छ । देउवा पक्षका नेता कार्यकर्ताले मतदान जारी राख्नु पर्ने माग गर्दै मतदानस्थलमा नाराबाजी गरिरहेका छन् । देउवा पक्षले सोमबार नै मतदान गर्ने भनेर मुचुल्कामा हस्ताक्षर गरेपछि बहिष्कार गरेको आरोप लगाएको छ । 

प्रमुख निर्वाचन अधिकृत जीवनारायण अधिकारीले एक पक्षले बहिष्कार गरेर गएपछि अनिश्चितकालका लागि निर्वाचन प्रक्रिया रोकिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “निर्वाचनका लागि मुचुल्कामा हस्ताक्षर गरेपछि पनि ढिलो गरी सुरु भयो भनेर एक पक्ष हिँडेपछि हामीले स्थगित गरेका हौं ।’ दुबै पक्षले पत्रकार सम्मेलन गरी एकअर्कालाई दोषारोपण गरेका छन् ।


प्रतिक्रिया