वर्षा र हिमपातको सम्भावना, सोमबारबाट मौसममा सुधार आउने

मंसिर १८, २०७८ | काठमाडौं

बंगालको खाडीको मध्य–पश्चिम क्षेत्रमा आएको जवाद नामको सामुद्री चक्रवातको प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका पहाडी तथा हिमाली भेगका केही स्थानमा सामान्य वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

सो चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आइतबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव समेत देखिने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । जसका कारण सुदूपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पूर्णतया बदली भइ हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । 

पश्चिम न्यून चापीय प्रणालीको असर आगामी सोमबार सम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातिदेखि भने मौसममा सुधार आउन सक्ने महाशाखाले जनारी गरेको बुलेटिनमा उल्लेख छ । 

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायात सहित दैनिक जनजीवनमा समेत असर पार्न सक्ने भन्दै सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

यसैबीच, भिजिविलिटीको कमीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज कुनै पनि उडान हुन नसकेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उडानका लागि ११ सय मिटर भन्दा बढीको भिजिविलिटी हुनपर्नेमा अहिले ५ सयदेखि ६ सय मिटरसम्मको मात्रै भिजिविलिटी छ । 


प्रतिक्रिया