निर्धारित शुल्क भन्दा बढी नलिन मन्त्रालयको आग्रह

पुस ३०, २०७८ | काठमाडौं

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम चिकित्सा शिक्षाको एमबीबीएस अन्तर्गत यस शैक्षिक सत्रमा निर्धारित शुल्क भन्दा बढी नलिन आग्रह गरेको छ । मन्त्रालयमा आज भएको छलफलका क्रममा निर्धारित शुल्क भन्दा बढी शुल्क नलिन शिक्षण संस्थाहरुलाई आग्रह गरिएको मन्त्रालयका सहसचिव डा हरि लम्सालले बताउनुभयो । 

विद्यार्थीहरुको छात्रावास सम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्था तथा तथा अभिभावक एमव् विद्यार्थीबीच आपसी छलफल गरी सहमतिमा निरुपण गर्न पनि मन्त्रालयले भनेको छ । यस्तै आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस समेतका कार्यक्रमका लागि शुल्क निर्धारण गर्ने क्रममा कुल शुल्क अन्तर्गत विश्वविद्यालय, विषयगत काउन्सिल र शिक्षण संस्थालाई बुझाउनुपर्ने शीर्षकगत रकम समेत निर्धारणगर्ने चिकित्सा शिक्षा आयेगले तत्काल कार्यारम्भ गर्न पनि मन्त्रालयले निर्देशन जारी गरेको छ । 

त्रिभुवन विश्वविद्यालय, काठमाण्डौं विश्वविद्यालय , काठमाण्डौं मेडिकल कलेज, नोबेल मेडिकल कलेजका प्रतिनिधि, अभिभावक र विद्यार्थी छलफलमा सहभागि थिए । 


प्रतिक्रिया