भ्रष्टाचार नियन्त्रणमा नेपालले प्रगति गर्न सकेन

माघ ११, २०७८ | काठमाडौं


नेपालले भ्रष्टाचार नियन्त्रणमा प्रगति गर्न नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनलले औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले आज सार्वजनिक गरेको सन् २०२१ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत वर्षकै स्थानमा रहेको उल्लेख गरेको छ । विगत १ वर्षमा विश्व बैक, वल्र्ड इकोनोमिक फोरमसहितका ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा नेपाल ११७ औं स्थानमा छ । नेपालको स्थिति दक्षिण एसियाली मुलुकहरूमा भुटान, माल्दिभ्स, भारत र श्रीलंकापछिको पाँचौं स्थानमा छ ।

यसैवीच, ट्रान्सपरेन्सीले विश्वभरि नै भ्रष्टाचार विरोधी प्रयासमा भएको कमी र शिथिलताले गर्दा मानवअधिकार र लोकतन्त्र धरापमा परेको बताएको छ । संसारभरि नै भ्रष्टाचार घट्न नसकेको र ८६ देशले एक दशकसम्म पनि कुनै प्रगति हासिल नगरेको देखिएको छ । सो संस्थाका अनुसार नागरिक हकअधिकार कमजोर भएका देशमा भ्रष्टाचार रहने, मानवअधिकार हनन हुने, लोकतन्त्रको स्तर घट्ने, अधिनायकवाद बढ्ने र भ्रष्टाचारमा थप वृद्धि हुने देखिएको छ ।

यस वर्षको सूचकाङ्कमा समावेश १८० देशमध्ये डेनमार्क, फिनल्यान्ड र न्यूजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने दक्षिण सुडान सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएको छ ।



प्रतिक्रिया