जंगली हात्तीको आतंक नियन्त्रण गर्न कोशी टप्पुमा घेराबारा

माघ २३, २०७८ | सुनसरी

जंगली जनावर र मानव द्वन्द्व नियन्त्रण गर्ने उद्देश्यले पहिलो पटक कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ प्रविधिको विद्युतीय फेन्सिङ (घेराबारा) लगाउन सुरु गरिएको छ । आरक्षबाट निस्केका जंगली हात्तीले मानव बस्तीमा अत्यधिक मात्रामा जनधनमा क्षति पुर्‍याएकाले अफसेट सोलार फेन्सिङ लगाउन थालिएको हो । 

यसअघि आरक्षमा पुरानो प्रविधिको सोलार फेन्सिङ ३० किलोमिटर लम्बाईको लगाएको थियो । तर, सो सोलार फेन्सिङ चट्याङका कारण ५० प्रतिशत काम नलाग्ने अवस्थामा रहेकाले आरक्ष भित्रका जंगली हात्तीसहित अन्य जनावर सजिलै बाहिर निस्केर मध्यवर्ती क्षेत्रका बस्तीमा प्रवेश गरी बितण्डा मच्चाउँदै आएका थिए । 

आरक्षका वार्डेन रामचन्द्र खतिवडाका अनुसार अफसेट सोलार फेन्सिङ भने जंगली हात्तीलाई लक्षित गरेर लगाउन लागिएको हो । उहाँले भन्नुभयो, ‘जंगली हात्ती लगायत जनावरलाई मानव बस्ती पस्नबाट रोक्ने उद्देश्यले कोसी गाउँपालिका–८ मा पर्ने भण्टाबारीदेखि वडा नम्बर– ७ हरिपुरको आर्मी क्याम्पसम्म ७५ लाख रुपैयाँको लागतमा १० किलोमिटर लामो विद्युतीय घेराबारा गर्न लागिएको छ । फेन्सिङ गर्ने काम चैत मसान्तभित्र सक्ने छौं ।’ 

उहाँका अनुसार सुनसरीतर्फ ७ किलोमिटर र सप्तरीतर्फ ३ किलोमिटर गरी जम्मा १० किलोमिटर विद्युतीय घेराबारा गर्न गत वर्ष नै ठेक्का लगाइएपनि कोरोना महामारीका कारण काम अगाडि बढेको थिएन । पहिलेदेखि नै लगाएका फेन्सिङको मर्मत सम्भार गर्ने पनि खतिवडाले बताउनुभयो । 

आरक्षमा नयाँ प्रविधिको अफसेट सोलार फेन्सिङ लगाइने बारे स्थानीय बासिन्दालाई जानकारी दिंदै वार्डेन रामचन्द्र खतिवडा । तस्बिर: प्रदीप मेन्याङ्बो/रेडियो कान्तिपुर ।

विद्युतीय घेरावारा लगाउनका लागि आरक्षले मध्यवर्ती क्षेत्रका सर्वसाधारण र स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेको खतिवडाको भनाई छ । आरक्षमा हाल ५ वटा जंगली हात्ती रहेका छन् । बाँकी ५ देखि ७ वटा कोशी पश्चिम गएका छन् । कोशी पश्चिम गएका हात्ती पनि आरक्षमै फर्किने भएकाले आतंक नियन्त्रण गर्न फेन्सिङको जरुरी भएको आरक्षका वार्डेन खतिवडाले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आरक्षमा जंगली हात्ती मात्र नभएर विशेष गरी संरक्षित सूचीका अर्ना (जंगली रांगा–भैंसी) र अन्य धेरै प्रजातिका जनावरले पनि बासस्थान बनाएकाले मध्यवर्ती क्षेत्रका बासिन्दाले बर्सेनि दुख पाइरहेका छन् । फेन्सिङले स्थानीय बासिन्दालाई राहत दिने छ ।’

खतिवडाका अनुसार आरक्षका अन्य जंगली जनावरले भन्दा बढी हात्तीले मात्र वार्षिक ३ करोड रुपैयाँको क्षति गर्दै आएको छ । मानवीय क्षति हुँदा १० लाख रुपैयाँ र घाइते बनाएमा २ लाख रुपैयाँ आरक्षले क्षतिपूर्ति दिंदै आएको छ । आरक्षले मध्यवर्ती क्षेत्रसहित पूर्वका झापा सम्मका १० वटा डिभिजन कार्यालय मार्फत जंगली हात्तीले गर्ने क्षतिको पूर्ति दिने गरेको वार्डेन खतिवडाले बताउनुभयो ।

फेन्सिङ गर्दै स्थानीय जनताका माग अनुसार समस्या समाधानको उपाय पनि खोज्दै जंगली जनावर आतंक रोक्न तत्काल घाँसे मैदान व्यवस्थापन गर्न र सिमसार व्यवस्थापन लगायत कार्य गर्ने योजना पनि रहेको आरक्षका वार्डेन खतिवडाले जानकारी दिनुभयो । जैविक विविधताले भरिएको आरक्षमा अर्ना र पाहुना चराहरु हेर्नकै लाग आन्तरिक र बाह्य पर्यटक आकर्षित हुने गरेका छन् ।

सप्तकोशी पूर्वको सुनसरी र पश्चिमा पर्ने सप्तरी र उदयपुर जिल्लाको १ सय ७५ वर्ग किलोमिटरमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष ०३२ सालमा स्थापना भएको हो । आरक्षमा पर्यटक आउने बस्ने, फिसिङ गर्ने, चराहरुको अवलोकन गर्ने, जंगल सफारी गर्ने, सरकारले तोकेको शुल्क तिरेर प्रवेश गर्नेको संख्या बढेकाले थप व्यबस्थित गर्न लागिएको खतिवडाले बताउनुभयो ।

आरक्षको जंगली हात्तीबाट सबैभन्दा बढी पीडित स्थानीय तह कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जङ्गली जनावरलाई आरक्ष बाहिर निस्कन नदिन आरक्षको चारैतिर विद्युतीय घेराबारा गरिनुपर्ने बताउनुभयो । मानव र जनावरबीच द्वन्द्व अन्त्य गर्न आफूहरुले माग गर्दै आएकोमा पछिल्लो पटक फेन्सिङ सुरु भएकोमा केही राहत पुग्ने अध्यक्ष अन्सारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आरक्षका जंगली जिवजन्तु जनवारको पनि संरक्षण होस र मध्यवर्ती क्षेत्रमा बसोबास भएका बस्तीमा पनि धनमाल र मानवीय हानीनोक्सानी रोक्न आरक्षले फेन्सिङ सुरु गरेकोमा हाम्रो पनि सहयोग हुनेछ ।’


प्रतिक्रिया