कुवेत–भैरहवा बीच नियमित दैनिक हवाइ उडान सुरु

भाद्र ३१, २०७९

कुवेत–भैरहवा बीच हप्ताको तीनवटा हवाइ उडान संचालन गर्दै आएको जजीरा एयरलाइन्सले शुक्रवारदेखि नियमित रुपमा दैनिक उडान सुरु गरेको छ । जेठ २ गते गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएसंगै जजीरा एयरलाइन्सले कुवेत–भैरहवाबीच हप्तामा तीनवटा उडान गर्दै आएको थियो । 

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रबक्ता सुभाष झाले आजदेखि जजीरा एयरलाइन्सले कुवेत–भैरहवाबीच नियमित रुपमा दैनिक एउटा उडान संचालन गरेको बताउनुभयो । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका अनुसार, हालसम्म जजीरा एयरलाइन्सले कुवेत–भैरहवाबीच १ सय १० वटा उडान संचालन गरेको छ । जसमध्ये कुबेतबाट–भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना हवाई यात्रु ओर्लेका छन् ।

भैरहवाबाट कुवेतका लागि कुल ७ हजार २ सय ४० जना यात्रु प्रस्थान गरेका छन् । कुबेत–भैरहवा बीचको हवाइ यात्रुको चाप बढ्न थालेपछि जजीरा एयरलाइन्सले नियमति रुपमा दैनिक उडान संचालन गरेको हो । आगामी अक्टुबर ३० देखि बीज एयरलेपनि युएईको अवुदाबी–भैरहवा बीच हवाई उडान संचालन गर्ने भएको छ । 


प्रतिक्रिया