आफैँलाई भोट हाल्न नपाउने उम्मेदवार

मंसिर ३, २०७९

आसन्न निर्वाचनमा कतिपय उम्मेदवारले आफैँलाई मतदान गर्न नपाउने भएका छन् । शीर्ष नेतादेखि स्वतन्त्रतर्फबाट उठेका र राम्रै चर्चा बटुलेका कतिपय उम्मेदवारलेसमेत आफ्नो लागि मत हाल्न नपाउने भएका हुन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछाने, स्वतन्त्र उम्मेदवार सागर ढकाल, लगायतले आफैँलाई मत हाल्न पाउने छैनन् । मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा फरक भएकाले उनीहरु आफैँलाई मत हाल्नबाट वञ्चित हुने भएका हुन् ।

झापा क्षेत्र नं ५ बाट चुनाव लडेका एमाले अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली भक्तपुरमा रहेकाले ओलीले यस पटक आफैँ मत हाल्न नपाउने भएका हुन् । यसअघि चितवन क्षेत्र नं ३ बाट चुनाव लडेका र हाल गोरखा क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि आफूलाई मतदान गर्न पाउँदैनन् । दाहालको मतदाता नामावली यसअघि निर्वाचित भएको चितवन जिल्ला क्षेत्र नं ३ को हो । यस्तै जसपा अध्यक्ष एवं सप्तरी क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवको पनि मतदाता नामावली सुनसरीको हुदाँ आफू उठेको निर्वाचन क्षेत्रबाट मत हाल्न पाउँदैनन् । लोसपा अध्यक्ष महन्थ ठाकुर पनि आफैँलाई भोट हाल्न नपाउने अर्का उम्मेदवार हुन् । महोत्तरी क्षेत्रनं ३ बाट उठेका ठाकुरको मतदाता नामावली सर्लाहीको छ । यस्तै आफैँलाई मतदान गर्न नपाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवार रवि लामिछाने पनि हुन् । मतदाता नामावली काठमाडौंमा भएको हुँदा लामिछानेले पनि आफैँलाई भोट खसाल्न नपाउने भएका हुन् ।

यस्तै पूर्व सभामुख एवं काठमाडों क्षेत्र नं २ की प्रतिनिधिसभा उम्मेदवार ओन्सरी घर्ती मगरले पनि आफैँलाई मत हाल्न पाउने छैनन् । घर्तीको मतदाता नामावली रोल्पामा छ । उता राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बाग्लुङ १ का उम्मेदवार चित्र बहादुर केसीको मतदाता नामावली रुपन्देहीमा हुँदा केसी पनि आफैँलाइ मत हाल्न पाउँदैनन् । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकला पनि आफँैलाई भोट हाल्न नपाउने अर्का उम्मेरवार हुन् । डडेल्धुराबाट उम्मेदवारी दिएका ढकालको मतदाता नामावली गुल्मी रहेको हुँदा ढकालले आफैँलाई भोट हाल्न नपाउने भएका हुन् । यस्तै बारा क्षेत्र नं ४ बाट उठेका एकीकृत समाजवादी पार्टीका उम्मेदवार कृष्णकुमार श्रेष्ठको पनि मतदाता नामावली तनहुँको हँुदा आफैँलाई मत हाल्न पाउँदैनन् । 


प्रतिक्रिया