रुपन्देहीमा मतदाता शिक्षा कार्यक्रम कमजोर, १ लाख भन्दा बढी मत बदर

मंसिर १४, २०७९ | भैरहवा

प्रतिनिधि सभा र प्रदेश सभाको यही मंसिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देहीमा १ लाख भन्दा बढी मत बदर भएको छ । बदर मत अत्यधिक हुनुले निर्वानका लागि गरिने मतदाता शिक्षा कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ । 

निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी रुपन्देहीमा १ लाख २ हजार ९ सय ३७ मत बदर भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ६ लाख ३८ हजार ९ सय ९२ मतदाता रहेकोमा प्रतिनिधि सभा प्रत्यक्षतर्फ पाँच वटै क्षेत्रमा खसेको ४ लाख ३१ हजार ९ सय ७४ मध्ये २४ हजार ५ सय २१ मत बदर भएको छ । यो कुल सदर मतको ५ दशमलव ६८ प्रतिशत हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या प्रसाद भण्डारीले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा मत बदरको संख्या बढेको स्वीकार्नुभयो । जिल्लाका १६ वटा स्थानीय तहबाट एक/एक जना मतदाता अनुगमन अधिकृतलाई मात्र निर्वाचन आयोगले तालिम दिएको र ती अधिकृत मार्फत् सम्बन्धित पालिकाबाटै प्रत्येक वडा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएकाले निर्वाचन कार्यालयको भूमिका खासै नभएको उहाँले बताउनुभयो ।

 ‘मतदाता शिक्षा कार्यक्रम कमजोर देखियो’, उहाँले भन्नुभयो, ‘कामको चापले मतदाता शिक्षा कार्यक्रमको अनुगमन पनि निर्वाचन आयोग र कार्यालयबाट प्रभावकारी रुपमा गर्न सकिएन ।’

निर्वाचन कार्यालय रुपन्देहीका अनुसार, समानुपातिकमा प्रतिनिधि सभातर्फ खसेको ४ लाख ३४ हजार ५ सय ६४ मतमा २३ हजार ७ सय ४३ मत बदर भएको छ । यो कुल खसेको मतको ५.४६ प्रतिशत हो । प्रदेशसभा प्रत्यक्षतर्फ खसेको ४ लाख ३१ हजार १७ मतमा २१ हजार ५ सय २४ मत बदर पाइएको छ । जुन ४.९९ प्रतिशत हो । 

प्रदेशसभा समानुपातिकतर्फ ४ लाख ३० हजार ८ सय ५७ मत खसेकामा ३३ हजार १ सय ४९ मत बदर पाइएको छ । यो ७.६९ प्रतिशत हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सबै भन्दा बढी क्षेत्र नम्बर ४ र सबै भन्दा कम क्षेत्र नम्बर २ मा मत बदर भएको छ । 

प्रदेश सभा प्रत्यक्षतर्फ क्षेत्र नम्बर ४(२) मा सबैभन्दा बढी र २(१) मा कम मत बदर भएको छ । प्रतिनिधि सभा समानुपातिकतर्फ सबैभन्दा धेरै क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा कम मत बदर भएको छ । प्रदेश सभा समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा धेरै र क्षेत्र नं. ४ मा कम मत बदर भएको छ । 


प्रतिक्रिया