लुम्बिनीमा ४ महिनामा ३९८ सवारी दुर्घटना, १६५ ले गुमाए ज्यान

मंसिर २१, २०७९ | तिलोत्तमा

लुम्बिनी प्रदेशमा पछिल्लो चार महिनामा सवारी दुर्घटनामा परि १ सय ६५ जनाको मृत्यु भएको छ । १ सय ७५ जना घाईते भएका छन् । बुटवलस्थित ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि १ सय ९ जना सामान्य घाईते भएका छन् । 

लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा बढी रुपन्देहीका सवारी दुर्घटना भएको पाइएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ । रुपन्देहीमा गत चार महिनामा १ सय १४ वटा सवारी दुर्घटना भएकोमा ३८ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्यांक छ । दुर्घटनामा परि ६१ जना गम्भीर घाईते तथा १९ जना सामान्य घाईते भएका छन् ।

त्यस्तै, कपिलवस्तुमा गत चार महिनामा ६० वटा सवारी दुर्घटना भएकोमा २७ जनाको मृत्यु भएको छ । ४४ जना गम्भीर घाईते तथा १२ जना सामान्य घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ । बाँकेमा ५८ वटा सवारी दुर्घटना भएकोमा २२ जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार २८ जना गम्भीर घाईते भएका छन् भने १७ जना सामान्य घाईते भएका छन् ।

दाङमा ५२ वटा सवारी दुर्घटना भएकोमा १५ जनाको मृत्यु भएको छ । ३५ जना गम्भीर घाईते भएका छन् । नवलपरासी पश्चिममा २७ दुर्घटना भएकोमा १२ जनाले ज्यान गुमाएका छन् । १४ जना गम्भीर घाईते भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बर्दियामा २६ वटा सवारी दुर्घटना भएकोमा ९ जनाले दुर्घटनाबाट ज्यान गुमाएका छन् भने २२ जना गम्भीर घाईते भएका छन् ।

मंसिर महिनाको १९ दिनमा प्रदेशमा ३१ वटा सवारी दुर्घटनाबाट २३ जनाको मृत्यु भएको छ भने २६ जना गम्भीर घाईते छन् । तीब्र गतिका कारण सवारी अनियन्त्रित भएर तथा ट्राफिक लेनको प्रयोग नगर्दा धेरै दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले बताउनुभयो ।

पाल्पामा २१ दुर्घटना भएकोमा १२ जनाले ज्यान गुमाएका छन् भने १४ जना गम्भीर घाईते भएको छ । प्युठानमा १६ वटा दुर्घटना भएकोमा १२ जनाले दुर्घटनाबाट ज्यान गुमाएका छन् भने ३४ जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । अर्घाखाँचीमा चार महिनामा १० वटा दुर्घटना भएकोमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । 

रोल्पामा ८ वटा सवारी दुर्घटना भएकोमा ५ जनाको मृत्यु भएको छ, ९ जना घाईते भएका छन् । गुल्मीमा ३ वटा दुर्घटना भएकोमा ३ जनाको मृत्यु भएको छ भने पूर्वी रुकुममा ३ वटा दुर्घटना भएकोमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । विशेष गरी तराई क्षेत्रमा दुई पांग्रे मोटरसाईकलबाट धेरै दुर्घटना हुने गरेको ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । 

लुम्बिनी प्रदेशमा कुल ३ सय ९८ दुर्घटना भएकोमा मोटरसाईकल मात्र २ सय ४० रहेको भण्डारीले जानकारी दिनुभयो । दुर्घटनाको मुख्य कारण चालकको लापरबाही, सडकको दुरावस्था, तीब्र गति, ट्राफिक लेनको प्रयोग नगर्नु लगायत रहेको उहाँको भनाई छ । दुर्घटना न्युनिकरण गर्न जिल्लामा विभिन्न सवारी साधनका चालक तथा सहचालकलाई ट्राफिक नियमको बारेमा पढाउने तथा प्रशिक्षण समेत गराउँदै आएको भण्डारीले जानकारी दिनुभयो । 


प्रतिक्रिया