विद्यालय तहको सिकाई उपलब्धि दयनीय: शिक्षामन्त्री खनाल

माघ १५, २०७९ | काठमाडौं

शिक्षामन्त्री शिशिर खनालले विद्यालय तहको सिकाई उपलब्धि दयनीय रहेको बताउनु भएको छ । शिक्षा पत्रकार सञ्जालले काठमाण्डौंमा आयोजना गरेको ८ ओं साधारणसभालाई सम्बोधन गर्दै शिक्षा मन्त्री खनालले विद्यालय तहमा देखिएको सिकाइ उपलब्धिको प्रभाव उच्च शिक्षामा पनि देखिएको बताउनुभयो । सिकाई उपलब्धि प्रभावकारी बनाउन सरोकारवाला निकाय सबैले पहल गर्नुपर्ने उहाँको भनाई थियो । 

उहाँले मन्त्री परिवर्तन हुँदैमा सबै परिवतृन नहुने तर केही नीति नियम भने परिवर्तन गर्न सकिने उल्लेख गर्नुभयो । शिक्षकले तलब खानका लागि ४ महिना कुर्नुपर्ने अवस्थालाई एक महिनामै तलब खुवाउने आफूले तयारी गरेको बताउनुभयो । यस्तै विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुर्‍याउने विषयमा आफूले काम अघि बढाइसकेको पनि उहाँको भनाई थियो ।

यसैबीच शिक्षा पत्रकार सञ्जालको ८ औं साधारणसभाले रविचन्द्र पराजुलीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सुर्य पाण्डे, महासचिवमा विनोद घिमिरे, सचिवमा पार्वता चौधरी र कोषाध्यक्षमा मञ्जिमा ढकाल चयन भएका छन् । 


प्रतिक्रिया