मतपेटिका संकलन हुँदै

वैशाख १०, २०८०

तनहुँ–१ मा उपनिर्वाचन सम्पन्न भएलगातै मतपेटिका संकलन भइरहेको छ । ६९ मतदान स्थलका १५२ मतदान केन्द्रबाट ल्याइएको मतपेटिका दमौलीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन भइरहेको छ । सबै मतदान स्थलबाट आइतबार करिव ११ बजेसम्म मतपेटिका संकलन गरिसक्ने गरी ढुवानी व्यवस्थापन मिलाइएको छ । मतपेटिका संकलन पश्चात सर्वदलिय बैठक बसि मतगणना कार्य के कसरी बढाउने भनि निर्णय गरी अगाडि बढ्ने तयारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । उनका अनुसार आयोग तत्काल मतगणना अगाडि बढाउन तयारी अवस्थामा रहेको छ । मतगणना सुरु गरेपछि दुई दिन भित्र अन्तिम मत परिणाम सार्वजनिक गर्ने तयारी छ ।

 

प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा करिब ५२ प्रतिशत मत खसेको छ । बिहान ७ देखि ५ बजेसम्म भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २ नगरपालिका र ३ गाउँपालिका रहेको यस निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्नका लागि एक हजार ३६८ कर्मचारी परिचालन गरिएको थियो ।

उपनिर्वाचनका लागि यस निर्वाचन क्षेत्रमा महिलातर्फ ६३ हजार ७६५ र पुरुषतर्फ ५९ हजार ५४० गरी कूल १ लाख २३ हजार ३०५ जना मतदाता कायम रहेकामा ६३ हजार ७५७ जना मतदान कार्यमा सहभागि भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार उपनिर्वाचनमा ५१.७१ प्रतिशत मत खसेको छ । गत मंसिर ४ मा सम्पन्न आमनिर्वाचनमा क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो । 


प्रतिक्रिया